प्रचण्ड–बाबुराम सिरियल हेर्न एकसाथ मण्डलामा

प्रचण्ड-बाबुरामकाे एउटै बोली : जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना


२०८१ भदौ २७ बिहीबार ००:४६ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्दै नेपालमा चलेको १० वर्षे जनयुद्ध लाखौं जनता सहभागी भएर लडिएको आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएकाले दावी गरेका छन् । उनीहरुले यसको आवश्यकता र महत्वमाथि युगयुगसम्म चर्चा भइरहने जिकिर गरे । 

शुक्रबारदेखि प्रसारण हुने जनयुद्धका घटनाक्रममा आधारित टेलिफिल्म ‘राधाकृष्ण’ को प्रिमियर शो हेरेपछि दुई नेताले एकै खालको धारणा राखेका हुन् । अध्यक्ष प्रचण्डले नेपाल राज्यको एकीकरणपछि नेपाली जनता सामेल भएर यति ठूलो राजनीतिक क्रान्ति कहिल्यै नभएकाले यो ऐतिहासिक परिघटना भएको दावी गरे ।

‘पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि लाखौं लाख जनता सहभागी भएर गरिएको कुनै राजनीतिक आन्दोलन छ भने त्यो माओवादी जनयुद्ध नै हो’, उनले भने, ‘लाखौँ जनताले यसमा भाग मात्र लिएनन्, वर्षौदेखिको वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक, भाषिक उत्पीडनको अन्त्य भएर समतामूलक समाज निर्माणको नयाँ आधार खडा भएको छ, यति ठूलो आन्दोलन ल्याटिन अमेरिकी मुलुक वा यूरोपतिर भएको हुन्थ्यो भने विश्वव्यापी परिवर्तनको घटनाको रूपमा दर्ज भइसक्ने थियो ।’

कतिपय शक्तिहरूले लाखौं जनताको सहभागितामा भएको जनयुद्धलाई विद्रुपीकरण गर्ने र यसको नेतृत्वकर्ता माओवादीको भूमिकालाई न्यूनीकरण गर्ने गरी बहस गर्ने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनताको बलिदान र वीरतामा आधारित जनयुद्धको मर्म इतिहासमा स्थापित भइसकेको बताए । ‘कतिपयले माओवादीलाई हामीले मूलधारमा ल्यायौं भनेको पनि सुन्छु’, उनले प्रश्न गरे, ‘हामी मूलधारमा आयौं कि हामीले मूलधार सिर्जना गर्‍यौं ? हामी संवैधानिक राजतन्त्रको मूलधारमा गएका होइनौँ । अन्य दलहरू हामीले स्थापित गरेको गणतान्त्रिक मूलधारमा आएकाले माओवादीलाई मूलधारमा ल्याएको भन्ने तर्क सही होइन ।’

इतिहासको यथार्थ चित्रणमा सबैले जोड दिनुपर्ने उल्लेख गर्दै उनले टेलिफिल्म ‘राधाकृष्ण’ ले तत्कालीन सत्ता र विद्रोहीमध्ये कुनै एक पक्षमा नढल्केर इतिहासप्रति न्याय गर्ने र लाखौँ जनताले परिवर्तनका लागि गरेको बलिदानीको गाथालाई नयाँ पुस्तासम्म जस्ताका तस्तै पुर्‍याउने विश्वास व्यक्त गरे ।

जनयुद्धका नेतृत्वकर्ता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सँगै श्रृंखला गरेका छन् । टेलिश्रृंखलाको बारेमा जानकारी दिँदै कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले हरेक हप्ताको शुक्रवार साँझ ७ बजे ‘बल्छी धुर्वे’ युट्युव च्यानलमा प्रशारण हुने जानकारी गराए । 

कलाकार श्रेष्ठले टेलिश्रृंखलामा १० वर्षे माओवादी जनयुद्धताकाका घटनाहरुलाई देखाइने बताएका छन् । जनयुद्धकै कारण नागरिकले स्वतन्त्रता पाएको भन्दै उनले समाज परिवर्तनमा खेलेको भूमिका श्रृंखलामा प्रस्तुत गरिएको जानकारी दिए । त्यसक्रममा उनले बल्छी धुर्वे माओवादी भएछ भन्ने नसोंची दिन आग्रह गरेका छन् ।

‘राधाकृष्णले हामीले १० वर्षसम्म भोगेको जनयुद्ध । हामी यसरी बोल्न पाएको जनयुद्धकै कारणले हो जस्तो मलाई लाग्छ । समाजमा ठूलो परिवर्तन गरेको छ । त्यो अवस्थामा के भएको थियो । कस्ता घटना भएका थिए । समाजलाई कहाँसम्म लगेको थियो भन्नेबारेमा हुन्छ । एउटा कुरा के नभुलौँ भने बल्छी धुर्वे माओवादी भएछ भन्ने अफवाह नफैलाऔंब । हरेक शुक्रवार साँझ ७ बजे आउनेछ’, कलाकार श्रेष्ठले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७