उपसभामुख हटाउने विषयमा सत्ता गठबन्धभित्र फरक मत
काठमाडौं । उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयमा सत्ता गठबन्धभित्र पनि फरक मत देखिएको छ ।नेकपा एमाले र कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपसभामुख बनेकी रानामगरलाई हटाउन संसदमा प्रस्ताव दर्ता गर्ने तयारी अगाडि बढाइरहेका बेला सत्ता गठबन्धनकै मनमत पार्टीले भने फरक मत राखेको छ ।
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको टिप्पणी गरेका छन् । अध्यक्ष राउतले सरकारले गलत नियतका साथ उपसभामुख इन्दिरा रानालाई हटाउन लागेको बताएका हुन् । उनले सरकारले संवैधानिक परिषदमा आफ्नो बहुमत पुर्याउनका लागि उपसभामुखलाई हटाउने खेल भइरहेको बताए । संवैधानिक परिषदमा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भएकाले गलत नियत राखिएको उनले बताएका छन् । अध्यक्ष राउतले उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा नरहने बताए ।
उनले भने, ‘एकदम गलत नियतका साथ भइरहेको छ । संवैधानिक परिषदमा बहुमत पुर्याउनका लागि भइरहेको छ । अहिले आदि–आदि भयो । ३–३ वटा सिट भएपछि त्यहाँबाट आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भयो भनेर हटाउनका लागि यो भइरहेको छ । जुन गलत नियतका साथ हुन्छ, त्यो पक्कै पनि गलत नै हुन्छ । यसो नर्गदिए अलिकति लोकतन्त्रको मान मर्यादा रहन्थ्यो कि जस्तो हामीलाई लाग्छ । किनकी उपसभामुखज्यु एकदम प्रतिष्ठित र सबैभन्दा योग्य व्यक्तिहरुमध्ये एक हुनुहुन्छ जस्तो मलाई लाग्छ ।’
उनले भने, ‘अहिलेको सरकारबारेमा हामीलाई खासै जानकारी पनि हुन सकेको छैन । हिजो अस्ती सत्ता गठबन्धनको बैठक बस्यो भनेर मैले पनि पढें । कता के भइरहेको छ ? अहिलेसम्म न्युनतम साझा कार्यक्रम पनि बनेको अवस्था छैन । न त कसैसँग छलफल हुन्छ । न त सरकारको भिजिबिलिटी कतै देखेको छु मैले । हामी सत्ता पक्ष हो कि विपक्षीमा हो त्यो मलाई पनि थाहा छैन खासमा । म चाहीँ खासै काम, कारबाही अगाडि बढेको जस्तो, सरकार भएको जस्तो महसुस देख्दिनँ । उल्टै के देखिन्छ भन्दाखेरी साना पार्टीहरुलाई अरु पार्टीहरुले कसरी सखाप पार्ने ? केही सीमित नेताहरुलाई मात्रै कसरी प्रतिशोध साँध्ने ? त्यसमा प्रतिनिधि सभा पनि केन्द्रीत भएको र सरकार पनि केन्द्रीत भएको मैले देखेको छु ।’ उनले सरकार र प्रतिनिधि सभा साना पार्टीहरुलाई कसरी सखाप पार्न सकिन्छ भन्नेमा केन्द्रित भएको बताए । उनले आफूले सरकार भएको महसुस गर्न नसकेको पनि बताए ।