चेक अनादरको प्रवृत्ति बढ्दै गएको छ, नियन्त्रण जरुरी छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादर गर्ने प्रवृत्ति बढ्दै गएकोले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठकमा भएको बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा बोल्दै पौडेलले चेक अनादरलाई निरुत्साहित गर्नुपर्ने बताए । त्यस्ता घटनामा संलग्नलाई कारबाहीको लागि कानुनमा व्यवस्था गरिने प्रबन्ध पनि यथार्थमा आधारित हुनुपर्नेमा पौडेलले जोड दिए ।
पौडेलले हरेक कानुन बनाउँदा व्यवहारमा टेकेर बनाउनुपर्ने बताए । ‘चेक अनादरको प्रवृत्ति बढ्दै गएको छ, त्यसलाई नियन्त्रण गर्न जरुरी छ, त्यसका निमित्त आवश्यक कानुनी प्रबन्ध पनि गर्नुपर्छ, अर्कोतर्फ चेक अनादरको विषय निरुत्साहित गर्न कानुनी तवरले काम कारबाही हुनुपर्छ, कानुनमा गरिने प्रबन्ध रियलस्टिक पनि हुनुपर्यो भन्ने हो’, पौडेलले भने । अर्थमन्त्री पौडेलले बैङ्किङ कसुरमा गल्ती र कमजोरीको प्रकृति हेरेर सजायका व्यवस्था गर्नुपर्ने बताए । यस कुरामा सधैँ हेक्का राख्नु पर्ने पौडेलले बताए । ‘दण्ड गल्तीको कमजोरीको प्रकृति हेरेर हुनुपर्छ’, पौडेलले भने ।