पूर्व सभामुख सापकोटाविरुद्धको अपहरणपछि हत्या मुद्दामा सर्वोच्चले फैसला सुनाउँदै

काठमाडौँ । पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाविरुद्धको अपहरणपछि हत्या मुद्दामा आज (बुधबार) सर्वोच्च अदालतले फैसला सुनाउने भएको छ । संवैधानिक इजलासले बुधबार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको पेसी रहेको छ । यसअघि असार १२ गते एक न्यायाधीश अनुपस्थित भएपछि फैसलाको मिति सरेको थियो ।
काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर रिटमा जेठ २३ गते बहस सकिएर निसु तोकिएको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै पक्षको बहसपछि निर्णय सुनाउने भनी यसअघि नै मिति तोकिएको भए पनि वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत नभएपछि फैसला हुन नसकेको हो । न्यायाधीश राउत अदालत निरीक्षणका क्रममा बागलुङ पुगेका थिए ।
गत जेठ २३ गते प्रधानन्यायाधीश श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी रहेको संवैधानिक इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति असार १२ गते तोकेको थियो । २०६९ मंसिरमा काभ्रेका अर्जुन लामाको हत्या आरोपमा सापकोटासहितका नेताहरूमाथि अनुसन्धान हुनुपर्ने भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । सर्वोच्चमा तीन थान रिट निवेदन रहेका छन् ।
सर्वोच्चले फैसला गर्दै अनुसन्धान अघि बढाउनु र सापकोटालाई पक्राउ गर्न आदेश दिनुपर्ने माग निवेदकले उठाएका छन् भने प्रतिवादीहरूले यो घटना द्वन्द्वकालीन भएकाले संक्रमणकालीन न्यायसम्बन्धी संयन्त्रले हेर्नुपर्ने माग गरेका थिए । इजलासले दुवैको तर्क सुनेर फैसला सुनाउन लागेको हो ।
संवैधानिक इजलासमा सापकोटाविरुद्ध तीन वटा मुद्दा छन् । लामाकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते आफ्ना पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन् । त्यस्तै पत्रकार कनकमणि दीक्षितविरुद्ध पनि सापकोटाले अदातलको अवहेलना मुद्दा दायर गरेका थिए । उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपतिका राजनीतिक मामिलाविज्ञ सुशील प्याकुरेलले राजीनामा दिएका थिए ।