भारतीय विदेश सचिव मिस्रीको भ्रमण परिचयात्मक भ्रमण हो : परराष्ट्र प्रवक्ता राई


२०८१ श्रावण २८ सोमबार १४:३२ बजे
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राई

काठमाडौं :  भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण परिचयात्मक भ्रमण भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताएका छन् । साउन २७ देखि २८ गतेसम्म भएको सचिव मिस्रीको भ्रमणको दौरानमा दुई मुलुक बीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएपनि कुनै पनि औपचारिक संयन्त्रको बैठक वा सम्झौता नभएको बताए । 

परराष्ट्र सचिव सेवा लम्सालको अपौचारिक निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका मिस्री भ्रमण सकेर सोमबार स्वादेश फर्किएका छन् । गत १४ असार २०८१ मात्रै भारतीय विदेश सचिवको जिम्मेवारी सम्हालेका विक्रम मिस्रीले भुटानपछि आफ्नो दोस्रो भ्रमण नेपाल रोजेका हुन् । 

छिमेकी मुलुकविच परिचायत्मक भ्रमण गर्ने परम्परा रहेको र त्यसै अनुसार मिस्रीको भ्रमण भएको प्रवक्ता राईले नयाँ पेजलाई बताए । उनले भने, ‘भारतमा नयाँ विदेश सचिव नियुक्त हुनु भएपछि छिमेकी मुलुकहरूको भ्रमण गर्ने प्रचलन छ सोही चलन अनुसार उहाँ नेपालको शिष्टाचार भ्रमणमा आउनु भएको हो । परिचयात्मक भ्रमण भएकोले ‘कुनै विशेष’ विषय वा संयन्त्रको बैठक तोकिएका थिएनन् । कुनै संयन्त्रको बैठक अथवा सम्झौताहरु भएन ।’ 

परिचयात्मक विषयमा भ्रमण भए पनि दुई मुलुक बीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको प्रवक्ता राईको भनाई छ ।  दुई मुलुकबीचमा द्वीपक्षीय विदेश सचिवस्तरीय र परराष्ट्रमन्त्रीस्तरीय संयन्त्र, यसैगरी जलस्रोतको र सुरक्षाको बेग्लै संयन्त्रहरू पनि छन् । तर यसपालीको भ्रमणमा ती संयन्त्रको बैठक राखिएको थिएन । 

भ्रमणको क्रममा मिस्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग शिष्टचार भेट गरेका छन् । 

यसैगरी आइतबार उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरे । 

उनी गत असार १४ गते भारतको विदेशसचिवमा नियुक्त भएका थिए । विदेशसचिव मिश्री चीन, स्पेन र म्यानमारका लागि भारतीय राजदूत भइसकेका छन् । यसैगरी, उनले प्रधानमन्त्री नरेन्द्र मोदी तथा तत्कालीन प्रधानमन्त्रीद्वय डा. मनमोहन सिंह र आइके गुजरालको निजी सचिवका रूपमा काम गरिसकेका छन् । उनीसँग राजदूतभन्दा तल्लो ओहोदामा श्रीलंका र पाकिस्तानस्थित भारतीय उच्च आयोग (राजदूतावास)मा काम गरेको अनुभव छ । 

भारतको कस्मिरमा ७ नोभेम्बर १९६४ मा जन्मेका मिश्री १९८० मा विदेश सेवामा प्रवेश गरेका थिए । उनी ५ मे २०२० मा भारत–चीन सीमा क्षेत्र गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच तनाव हुँदा चीनका लागि भारतीय राजदूत थिए । उनी २०१० को सुरुवातदेखि २०२१ को अन्तिमसम्म चीनका लागि भारतीय राजदूत थिए । त्यसअघि उनले स्पेन र म्यानमारका लागि भारतीय राजदूतको अनुभव लिएका छन् । त्यसो त उनी २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदीको निजी सचिवका रूपमा कार्य गरेको अनुभव र निकटता दुवै छ । 

मोदीसँग मात्र नभएर उनी इन्द्रकुमार गुजराल र डा. मनमोहन सिंहका पालामा पनि प्रधानमन्त्रीको निजी सचिव थिए । २०१८ देखि २०२१ मा चीनका लागि उनी राजदूत भएर फर्केपछि मिश्रीलाई सरकारले उपराष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।  विदेश सेवाको दौरान उनले बेल्जियम, पाकिस्तान, अमेरिका, श्रीलंका र जर्मनीमा काम गरेको अनुभव छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७