जनार्दन शर्माको तीन प्रस्ताव : प्रचण्ड अब संरक्षक, पार्टी नेतृत्व हस्तान्तरण होस् (पूर्णपाठ)


२०८१ श्रावण २७ आइतबार ००:५९ बजे
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी वैठकमा नेताहरुले आफ्नो विचार राख्ने क्रम जारी छ । यसै क्रममा आज (आइतबार) को वैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले प्रचण्डलाई अब संरक्षक भएर बस्न सुझाव दिएका छन् ।

नेतृत्व हस्तान्तरण सम्बन्धमा उनले भनेका छन्, ‘अध्यक्ष  प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण ।’ शर्माले युवालाई सांगठनिक नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव पनि गरेका छन् । उनले आफ्नो प्रस्तावलाई पूर्वाग्रहको रुपमा नलिन पनि अनुरोध गरेका छन् ।

वैठकमा उपमहासचिव शर्माले तीन वटा प्रस्ताव अघि सारेका छन् । उनले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी तीन प्रस्ताव गरेका हुन् । पार्टीको जारी स्थायी समिति बैठकमा आफ्नो लिखित प्रस्तावमा शर्माले यस्तो बताएको एक नेताले जानकारी दिएका छन् ।

उनले नेतृत्व पुस्तान्तरण गर्ने हो भने अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने प्रस्ताव गरेका छन् । यस्तै हालका पदाधिकारीहरू सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मूल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेस्रो तहका युवाहरूलाई कार्यकारी साङ्गठनिक नेतृत्व हस्तान्तरण गर्ने शर्माको प्रस्ताव छ । 

त्यो पनि नभए हालको केन्द्रीय कमिटी भङ्ग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्ने उनको प्रस्ताव रहेको ती नेताले जानकारी दिए । पार्टी बनाउन पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहनको मान्यतामा भई नेतृत्वको विकल्पमा जानुपर्ने शर्माको भनाइ छ ।

बैठकमा उनले ‘पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार’ शीर्षकमा १२ पृष्ठको र ‘फुटबारे चलाइएका हल्ला’ शीर्षाकमा थप दुई पृष्ठ लामो प्रस्ताव पेस गरेका छन् । शर्माले पार्टीभित्र अन्तरसंघर्ष सञ्चालन र व्यवस्थापन गर्ने कार्यप्रति अरुचि बढ्दै गएको, फरक मतको सम्मान गर्ने संस्कार मासिँदै गएको र कम्युनिस्ट मूल्यमान्यताअनुसार सामूहिक छलफल, बहसको परिपाटी कमजोर हुन पुगेको आफ्नो निष्कर्ष सुनाएका छन् । 

‘पार्टीलाई आम जनताबाट अलग मात्र पारिएन, माथिदेखि तलसम्म परिवारवाद हाबी गराइयो,’ उनले भने । शर्माले माओवादी फुटाउन लागेको आरोप आफूमाथि लगाइएको समेत बताए । ‘पार्टीभित्र मुद्दा विशेषका कमी कमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दै छ भन्ने हल्ला चलाइयो ।’ 

उनले बैठकमा भने, ‘विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔं र चलाऔं भन्दा डर मान्नु पर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सिर्जना गरियो । अझ थप दुरुत्साहन गर्न राज्यशक्तिको समेत दुरुपयोग भएको आभास भयो ।’ सरकारमा रहँदा बालुवाटारबाटै कहिले आफू त कहिले अर्का उपमहासचिव पुनविरुद्ध दुश्प्रचार गरिएको, प्रतिशोध साँध्न पार्टीभित्र राज्यशक्ति प्रयोग गर्न खोजेको, पार्टीभित्र विभिन्न तहका नेताहरूलाई फुटाउन खोजेको समेत शर्माले बताएका छन् ।
 

पूर्णपाठ

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७