बेलायतमा पनि बढ्दै हिंसात्मक हुलदंगा : नेपालीलाई दूतावासको यस्तो अपिल


००:३५ बजे
तस्वीर स्रोत : रोयटर्स

लण्डनबेलायत केही दिनदेखिको हुलदंगाले अशान्त छ । लण्डनस्थित नेपाली दूतावासले हुलदंगा भएका स्थानमा नजान र सुरक्षा निकायले जारी गरेका सूचना पालना गर्न नेपालीहरुलाई अनुरोध गरेको छ ।

ठाउँ–ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ । विभिन्न ठाउँमा तोडफोड र आगजनीका घटना भएका छन् । स्थिति नियन्त्रणमा लिने प्रयासमा ३०० बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । तर तनाव रोकिएको छैन ।यसलाई बेलायतमा सन् २०११ पछिको सबैभन्दा ठूलो हिंसा भनिएको छ । त्यतिबेला एक मिश्रित नस्लवादी व्यक्ति प्रहरीबाट मारिएपछि हिंसा भड्किएको थियो । अहिले फेरि हिंसा बढ्न थालेपछि प्रधानमन्त्री कियर स्टार्मरले आपतकालीन बैठक बोलाएका छन् । उनले हुलदंगा गर्नेहरुविरुद्ध निर्मम बन्ने घोषणा गरेका छन् ।

लण्डनमा रहेको नेपाली राजदूतावासले एक सूचना निकालेर बेलायतको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ । साथै सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवम् स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचनाहरूलाई ध्यानपूर्वक पालना गर्न अनुरोध गरेको छ ।

साथै आपतकालीन अवस्थामा नेपाली राजदूतावासको फोन नम्बर ±44-0_2072291594, ±447404939274 / Email:info@nepembassy.org.uk, eon@nepembassy.org.uk मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

यस्तै गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले हालैका दिनमा बेलायतमा जातीय हिंसाका घट्ना बढिरहेको उल्लेख गर्दै नेपाली समुदायलाई सचेत रहन अपिल गरेको छ । अध्यक्ष प्रेम गाहामगरले मंगलबार एक आपतकालिन सेफ्टी एड्भाइजरी जारी गर्दै बढ्दो तनावको यस समयमा नेपाली समुदायको सुरक्षा र कल्याण सुनिश्चित गर्नु आफ्नो दायित्व रहेकाले केही समस्या परे सम्पर्क गर्न पनि सुझाएका छन् ।

लण्डनस्थित नेपाली दूतावासले बेलायतका नेपाली संघसंस्थाहरुलाई आ–आफ्नो तर्फबाट सुरक्षा सतर्कता अपनाउन अपिल गरिदिन आग्रह गरेको थियो । एनआरएनए यूकेले आफ्नो एड्भाइजरीमा उच्च–जोखिम क्षेत्रहरूमा नजान, हिंसा फैलिएका स्थानहरूमा यात्रा नगर्न, विश्वसनीय समाचार स्रोतहरू र स्थानीय अधिकारीहरूबाट आधिकारिक अद्यावधिक सूचनामार्फत सूचित रहन सुझाएको छ । 

त्यसैगरी संघले जोखिम न्यूनीकरणका लागि कुनै पनि प्रदर्शन वा दंगामा भाग नलिन पनि सल्लाह दिएको छ । कुनै पनि हिंसा वा भेद्भावका घट्ना भए प्रहरी वा स्थानीय नेपाली संगठनलाई सूचित गर्न पनि एनआरएनए यूकेको आग्रह छ । संघले बेलायतमा रहेका सबै नेपाली संस्थालाई आफ्ना सदस्यहरूलाई सहयोग प्रदान गर्न पनि आग्रह गरेको छ । केही समस्या परे स्थानीय अधिकारीहरू र नेपाली दूतावासलाई सम्पर्क गरि सहयोग लिन उसको सुझाव छ ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७