वडामै पराजित घर्तीलाई देउवाले यसरी दिए लुम्बिनी प्रदेश प्रमुख ‘उपहार’


२०८१ श्रावण १५ मंगलबार २०:४९ बजे

बुटवलमा । सरकारले लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई हटाउँदै कृष्णबहादुर घर्ती मगरलाई सिफारिस गरेको छ । रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ निवासी घर्ती मगर कांग्रेस सभापति शेरबहादुर देउवाको छनौटमा लुम्बिनी प्रदेशको प्रदेश प्रमुखमा सिफारिस भएका छन् ।

रोल्पाको माडी गाउँपालिका–२ बाट उनी नेपाली कांग्रेसको १४ महाधिवेशनमा प्रतिनिधि छनौटमा पराजित भएका थिए । घर्ती रोल्पा जिल्लामा दुई पटक नेपाली कांग्रेसको पार्टी जिल्ला सभापति चुनिएका थिए । १४ वर्ष जिल्ला सभापति भएर काम गरेका उनी कांग्रेस फुट्ने बेलामा हालका पार्टी सभापति शेरबहादुर देउवातर्फ लागेर प्रजातान्त्रिक कांग्रेसबाट जिल्लाको नेतृत्व गरेका थिए । 

२०१६ सालमा  जन्मिएका घर्तीले १२ औं महाधिवेशनमा भएको जिल्ला अधिवेशनबाट हाल प्रदेशको सभापति रहेका अमरसिंह पुनलाई हराएर सभापतिमा निर्वाचित भएका थिए । त्यसपछि मात्रै अमरसिंह पुन जिल्लाको सभापति बन्न पाएका थिए । २०४९ सालमा गाविस अध्यक्ष भएका र अहिलेसम्म लाभको पदमा नगएका उनलाई यसअघिको निर्वाचनमा समानुपातिक सांसदको सूचीमा राखिएको थियो । नेविसंघबाट राजनीति सुरु गरेका मगर पटक–पटक आन्दोलनमा क्रममा जेल परेका थिए । उनी पार्टीको आमन्त्रित केन्द्रीय सदस्य  समेत  रहेमा थिए ।

अमरसिंह पुन र कृष्णबहादुर घर्ती नाताले मामा भान्जा तथा ससुरा–ज्वाइँ समेत हुन् । तर पुन पार्टीको कोइराला समूहमा र घर्ती देउवा समूहमा पहिलेबाटै भएकाले दुवैबीच आन्तरिक सम्बन्ध भने कसिलो नभएको बताइन्छ । घर्ती लामो समयदेखि रोल्पाको लिवाङमा तुलसी इङ्लिस बोर्डिङ स्कुल चलाएर बसिरहेको रोल्पा कांग्रेस सभापति किशोर आचार्यले जनाए  । उनका अनुसार ६५ वर्षीय घर्तीले ५० सालदेखि नै उनले यसलाई नियमित चलाइरहेका छन् ।

दुई श्रीमती र सात छोराछोरी रहेका घर्तीको अहिले भने दुवै श्रीमती दिवंगत भइसकेका छन् । रोल्पा जिल्ला माओवादीको किल्ला मानिए पनि कांग्रेसलाई बलियो बनाउन घर्तीमगरले मेहनत गरेको उनका समर्थकहरु बताउँछन् । सशस्त्र युद्धको समयमा पनि कांग्रेसमै टिकिरहेका उनी जनस्तरमा राम्रो सम्बन्ध बनाएका नेताको रूपमा चिनिन्छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७