स्काइ वाक टावरले उत्साही भेडेटारका व्यवसायी


२०८१ श्रावण १२ शनिबार ०८:५८ बजे

धनकुटा ।  पर्यटकीय नगरी भेडेटारमा स्काइ वाक टावर सञ्चालनमा आएपछि यहाँका होटल व्यवसायीहरु उत्साही बनेका छन् । वोन्डर्स एम्युजमेन्ट पार्कस् एण्ड एट्रयाक्सन्स प्रालिले धनकुटा साँगुरीगढी गाउँपालिका–६ मा ११ रोपनी  क्षेत्रफलमा रु २० करोड लगानीमा स्काइ वाक टावरको शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो ।

टावर सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्नेमा यहाँका पर्यटन व्यवसायीहरु आशावादी बनेका छन् । होटल सङ्घ भेडेटारका अध्यक्ष तुमराज लिम्बुले टावर सञ्चालनपछि पर्यटकीय गतिविधि चलायमान हुने विश्वास व्यक्त गरे । ‘टावरको उद्घाटनमा पनि पर्यटकको आगमन बढेको छ, अब यहाँका होटलको व्यापार सुधार हुने अपेक्षा लिएका छौं’, उनले भने । 

लामो समयदेखि होटल व्यवसायमा संलग्न होटल अरुण टपका सञ्चालक रमेश श्रेष्ठले होटलको व्यापारसँगै यस क्षेत्रको कृषि उपज बेचबिखनमा समेत सहयोग पुग्ने बताए । होटल सङ्घका भेडेटारका पूर्वअध्यक्ष तथा होटल लावती कर्नरका सञ्चालक लिलाराज लावतीले पनि यहाँ सञ्चालित एक सयभन्दा बढी ठूला होटललाई यस परियोजनाले महत्वपूर्ण सहयोग पुग्ने बताए । 

गर्मीमा तराईबाट यहाँ आउने पर्यटकहरुको धेरै हुने गरेको छ । चुरे पहाडमा अवस्थित यस भेडेटार आसपासबाट हिमाल, पहाड र तराईको दृष्य एकैसाथ हेर्न पाइन्छ । होटल सङ्घका अनुसार दृश्यावलोकनका लागि भेडेटारमा दैनिक पूर्वी भारत र नेपालका विभिन्न स्थानबाट दुई हजारभन्दा बढी पर्यटकहरु आउने गरेका छन् । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले टावर सञ्चालनमा आएपछि यहाँको पर्यटन विकासमो टेवा पुग्ने बताए । हाल भेडेटारमा साना र ठूला गरी दुई सयभन्दा बढी होटल सञ्चालनमा छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७