कांग्रेस महामन्त्री गगन थापाको पूर्व सभापतिसँग के भयो कुराकानी ?


२०८१ श्रावण ११ शुक्रबार ०५:५४ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पार्टीका विभिन्न जिल्ला कार्यसमितिका पूर्व सभापतिहरूबीच छलफल भएको छ ।

काठमाडौंमा उपलब्ध कांग्रेसका पूर्व सभापतिहरूसँग शुक्रबार कमलादीस्थित एक होटलमा महामन्त्री थापाले समसामयिक छलफल गरेका हुन् । महामन्त्री गगन थापाले बोलाएको भेलामा पूर्व सभापतिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले सहजै सत्ता हस्तान्तरण गर्छन् भन्नेमा आशंका व्यक्त गरेका छन् । आज (शुक्रबार) काठमाडौंमा भएको सो भेलामा उनीहरूले यस्तो आशंका व्यक्त गरेको नुवाकोट कांग्रेसका पूर्व सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।

कांग्रेसले प्रधानमन्त्री बनाए पनि ओलीले पछि सहयोग नगर्ने हो कि भनेर शंका उत्पन्न भएको केसीले बताए । ‘सरकार परिवर्तनको कुरामा पनि दुई नेताबीच सहमति भयो । यसलाई ल्याप्चे लगाउने बाहेक पार्टीमा छलफल भएर पारित भएन भन्ने गुनासो साथीहरूबाट आयो,’ उनले भने, ‘कांग्रेस सहमतिमा इमान्दार हुन्छ । तर कम्युनिष्टहरू सहजै इमान्दार हुँदैनन् । प्रचण्डले त्यस्तै शैली देखाउनु भयो । यसैले ओलीजीले पनि सहजै सत्ता हस्तान्तरण गर्नु हुँदैन कि भनेर पूर्व सभापतिहरूले आशंका व्यक्त गर्नुभएको छ ।’

महामन्त्री थापाले कांग्रेस र एमाले मिल्नु पर्नाका कारणबारे बताएका थिए । तर ओलीमाथि नेताहरूले गरेको आशंकाबारे भने केही बोलेनन् । उनले समसामयिक राजनीति, नयाँ गठबन्धन तथा भोलिका भावी राजनीतिका विषयमा जानकारी गराएका थिए । 

छलफलमा कांग्रेसका २० जिल्लाका पूर्व सभापति सहभागी थिए । भेलामा लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले प्रदेश सरकार गठनमा केन्द्रले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए । ‘प्रदेशमा कार्यसमिति छ । तर सरकारमा को जाने भन्नेमा केन्द्रको हस्तक्षेप भयो । जुन लक्ष्यले संघीयता बन्यो त्यसको अभ्यास गर्न पार्टीले उपयुक्त ठानेन भन्ने पुनजीको असन्तुष्टि थियो,’ केसीले भने, ‘विधिविहीनताका आधारमा अगाडि बढे पार्टी नै कमजोर बन्नेमा धेरै साथीले कुरा उठाउनु भयो ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७