विपदमा परी १३९ जनाले गुमाए ज्यान

कास्कीमा विपदका घटनामा १४ जनाको मृत्यु, चार करोड बढीको क्षति


२०८१ श्रावण ११ शुक्रबार ०५:५१ बजे

काठमाडौं ।  मौसमजन्य विपदमा परी आज अपराह्नसम्म मुलुकभर १३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशीमा २२, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

बाढी पहिरोमा परी कोशी र बागमती प्रदेशमा दुई-दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक-एक गरी छ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । विपद्मा परी एक सय ५६ जना घाइते भएका छन् ।
बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् भने दुई सय ३८ घर, ८६ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट चार हजार ३० घरपरिवार विस्थापित भएका छन् ।
 

कास्कीमा विपदका घटनामा १४ जनाको मृत्यु, चार करोड बढीको क्षति
यस वर्षको मनसुन सुरू भएपछि पहिरामा परेर कास्कीमा हालसम्म १४ जनाको मृत्यु भएको छ । घटनामा छजना घाइते भएका छन् । यसबीचमा जिल्लामा बाढीपहिराका ३३ र अविरल वर्षाका ६१ वटा घटना घटेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयकानुसार विपदमा परेर पोखरा महानगरपालिकामा १२ र मादी गाउँपालिकामा दुईजनाको मृत्यु भएको हो । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका गत असार २७ गतेको पहिरामा परी स्थानीय कुलबहादुर परियारको परिवारका छसहित सात जनाको ज्यान गएको थियो । पहिरोमा परेर कुलबहादुरसहित उहाँका आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा र ज्वाइँ २५ वर्षीय अस्मित परियार तथा  छिमेकी ५६ वर्षीया राधिका परियारको मृत्यु भएको थियो । 

यसैगरी सोही रात पोखरा महानगरपालिका–३२ चैनपुरस्थित बाह«विसेमा ४० वर्षीया आरती ओझोको घर पहिरामा पुरिदा १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र नौ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको थियो । यसैगरी असार २७ गते राति मादी गाउँपालिका–११ ताप्लेमा गएको पहिरामा परेर ८० वर्षीया माइतीकुमारी गुरुङको ज्यान गएको थियो । 

गत असार २६ गते पोखरा महानगरपालिका–२७ का २२ वर्षीय भीमबहादुर थापाको घरमै सुतेको अवस्थामा पहिरामा परेर निधन भएको थियो । गत असार १२ गते रातिको घटनामा कास्कीको मादी गाउँपालिका–५ चितेपानीकी १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको थियो । सोही दिनको घटनामा पोखरा महानगरपालिका–२७ आरुपाटाका ३१ वर्षीय हरि सुनारका छोरा तीन वर्षीय अनमोल सुनारको पहिरोमा परेर ज्यान गएको थियो । यसैगरी अविरल वर्षाका कारण दुईजना घाइते भएका छन् ।

प्रहरीकानुसार पहिराका कारण जिल्लामा १४ वटा घर पूर्ण क्षति र नौ वटामा आंशिक क्षति पुगेको छ । पहिरोका कारण एकवटा चौपाया मरेका र चार वटा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । यस्तै वर्षाका कारण पाँचवटा चौपायाको मरेका, दुईवटा घाइते तथा एक हजार नौ सय २० वटा पंक्षी मरेका पनि शर्माले जानकारी दिए । विपद्बाट जिल्लामा अन्दाजी रु चार करोड आठ लाख ८१ हजारभन्दा बढीको सम्पत्तिमा क्षति भएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७