ओलीलाई विश्वासको मत नदिने माओवादी केन्द्र, रास्वपा र नेकपा एसको निर्णय


२०८१ श्रावण ४ शुक्रबार १०:०९ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची छ । 

विपक्षी दलहरुले मोर्चाबन्दी नै गरेर शुक्रबार सिंहदरबारमा सामुहिक छलफल गर्दै प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने र एकीकृत समाजादी अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार सिंहदबारमा भएको छलफलपछि तीन दल विपक्षमा उभिने टुंगोमा पुगेका हुन् ।

‘विपक्षी दलहरु प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वास मतको विपक्षमा उभिने निधो भएको छ,’ दाहालका स्वकीय सचिब रमेश मल्लले भने । निर्वतमान प्रधानमन्त्री दाहालले असार २८ मा प्रतिनिधिसभामा विश्वासको मत पाउन असफल भएका थिए । त्यसबेला माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) ले दाहाललाई विश्वासको मत दिएका थिए ।

प्रतिनिधिसभामा ६२ सिट भएका तीन प्रतिपक्ष दलले ओलीलाई विश्वासको मत नदिन एक ठाउँमा उभिएका छन् । वैठकले नयाँ सरकार गठन गर्दा संविधान मिचिएको विपक्षी निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जानकारी दिए । 

संविधानको कमजोर जगमा उभिएर नयाँ सरकार गठन भएको उनले बताएका छन् । ‘प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि ७६ (३) अनुसार नयाँ सरकार गठन हुनुपर्ने हो । उपधारा २ अनुसार नै बनाएर संविधान मिचिएको छ,’ पुनले भने, ‘यो कुरा सदनमा पनि उठाउने र सरोकारवालाहरूसँग पनि सशक्त रुपमा लैजाने कुरा भएको छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७