निर्माण क्षेत्रको समस्यामा सरकार आगो तापेर बस्दैन : अर्थमन्त्री पौडेल


२०८१ श्रावण ४ शुक्रबार ०७:५६ बजे

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण क्षेत्रका समस्याको आगो तापेर नबस्ने बताएका छन् । आज (शुक्रबार )निमार्ण व्यवसायी महासंघका पदाधिकारीहरूसँगको भेटमा उनले समस्याको आगो तापेर बस्ने भन्दा पनि सरकार समाधान गरेर जाने पक्षमा रहेको बताए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने जानकारी दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग आज अर्थ मन्त्रालयमा भएको भेटघाटमा उनले दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पारेका हुन् । महासङ्घका पदाधिकारीसँगको छलफलअघि अर्थमन्त्री पौडेलले विभिन्न विषयगत मन्त्रालयका सचिवसँग छलफल गरेका थिए ।  ‘काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकेको छ’, अर्थमन्त्री पौडेलले भने, ‘समस्या आइसकेपछि यत्तिकै राख्ने होइन, समाधान गर्दै जाने हो । दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौं ।’ 

सम्पन्न भएको कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको अर्थमन्त्री पौडेलले बताए । पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न पनि अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीलाई आग्रह गरे ।

‘तपाईहरुका जायज समस्या सुन्न र समाधान गर्न सरकार तयार छ । तपाईहरु पनि तोकिएको समय र लागतभित्र काम सक्नुस् । कामको गुणस्तर कायम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुहोला’, अर्थमन्त्री पौडेलले भने । निर्माण व्यवसायीले प्रदेश र स्थानीय तहसमेतबाट गरेर करिब ६० अर्ब बराबर भुक्तानी पाउन बाँकी रहेको दावी गर्दै आएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७