संसदीय छानबिन समितिले माग्यो नौं सहकारीको कागजात


२०८१ असार १२ बुधबार ०६:२४ बजे

काठमाडौं । सहकारी संस्थाका बचत अपचलन छानबिन गर्न गठित संसदीय विशेष समितिले अनुसूची २ मा रहेका नौं सहकारीका कागजात माग गर्ने निर्णय गरेको छ । संसदीय विशेष समितिको बुधबार बसेको बैठकले अनुसूची २ मा रहेका नौं सहकारी संस्थाहरूको सम्बन्धित निकायहरूबाट कागजात माग गर्ने निर्णय गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए ।

समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात माग गर्ने निर्णय गरेको हो ।

यीमध्ये पोखराको सूर्यदर्शनलगायत केही सहकारीबाट गोरखा मिडियामा बचत रकम आएको आरोप छ । ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्था गोरखा मिडिया हो। रवि लामिछाने ग्यालेक्सी टिभीको प्रबन्धक थिए । रवि लामिछाने पनि सहकारी प्रकरणमा जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो ।

समितिका सभापति थापाका अनुसार अनुसूची २ मा रहेका ९ वटा सहकारीका पछिल्लो साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदनलगायत माग गरिएको छ । ‘विभिन्न सहकारीमार्फत् गोरखा मिडियामा प्रबाह भएको रकमको स्थितिसहित ६ बुँदासहित कागजात माग गर्ने निर्णय भएको छ,’ उनले भने, ‘गोरखा मिडियामा विभिन्न सहकारीबाट प्रबाह भएको रकमका बारेमा हामीलाई चासो छ, कार्यादेशमा पनि त्यही कुरा उल्लेख छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७