दुबई रहेकी प्रेमिकालाई भिडियो कल गरेर आफैलाई गोली हानेका थिए प्रहरी जवान अजितले


२०८१ असार ५ बुधबार १४:२७ बजे

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र आज (बुधबार) मृत भेटिएका प्रहरी जवानअजित गोलेले प्रेम सम्बन्धमा दरार आएपछि आफैंलाई गोली हानेर आत्महत्या गरेको खुलेको छ । घटना अनुसन्धानका क्रममा प्रहरी जवान अजित गोलेले प्रेम सम्बन्ध बिग्रिएपछि दुबईमा रहेकी प्रेमिकालाई भिडियो कल गरेर आफैंलाई गोली हानी आत्महत्या गरेको खुलेको स्रोतले जानकारी दिएको छ ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए । घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइल समेत बरामद भएको थियो । घटनास्थलमा भेटिएको मोबाइलबाटै आफैंलाई गोली हानेको प्रारम्भिक तथ्य खुलेको हो ।

‘प्रेमिकाले वास्ता गर्न छाडेपछि उनले आत्महत्या गरेको देखिन्छ’, एक अनुसन्धान अधिकृतले उनले भने । गोलेले प्रेमिकासँग विवाहका लागि इन्गेजमेन्ट समेत गरिसकेका थिए । पाँच महिनाअघि टिकाटालो भएपछि गोलेले प्रेमिकालाई आफ्नै खर्चमा दुबई पठाएको पाइएको समेत स्रोतले जानकारी दिएको छ । दुबई पुगेपछि प्रेमिकाले वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको थियो । मोबाइलमा भेटिएको कुराकानीबाट समेत उक्त विवाद पुष्टि भएको प्रहरीले जनाएको छ ।

विवादका बेला उनले प्रेमिकालाई बेला–बेला मर्छु भन्दै म्यासेजहरु समेत पठाएको भेटिएको छ । बुधबार बिहान आत्महत्या गर्नुअघि पनि मर्छु भन्दै म्यासेज गरेको र भिडियो कल गरेको देखिएको छ । भिडियो कल गरेपछि नै उनले प्रेमिकालाई देखाएर आफूले बोकेको हतियारले आफैंलाई गोली हानेको पाइएको प्रहरीले जनाएको छ । भुईँमा बन्दुक राखेर निधारतर्फ तेर्साएर खुट्टाले ट्रिगर दाबेको जस्तो देखिएको प्रहरी स्रोत बताउँछ ।

उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । उनले ८ बजेर २ मिनेट जाँदा गोली हानेको अनुमान गरिएको प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बताएका छन् । गोलेको ड्युटी बिहान ६ बजेदेखि १० बजेसम्म राखिएको थियो ।

प्रहरीको केन्द्रीय विशेष कार्यदलमा कपन दरबन्दी रही उनी संसद भवनमा खटिँदै आएका थिए । गत २८ जेठदेखि उनलाई संसद भवनमा खटाइएको थियो । कार्यदलमा कमाण्डो तालिम गरेको प्रहरी रहने भए पनि उनी भने कमाण्डो तालिम प्राप्त व्यक्ति होइनन् । उनले २०७८ सालमा प्रहरी जवानमा भर्ना भएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७