तस्करीका ट्रक छुटाउन शक्तिकेन्द्र धाउँदै ब्यापारी


२०८१ बैशाख ३० आइतबार ०६:०३ बजे

काठमाडौं : राजस्व अनुसन्धान विभागले भन्सारछलीको आशंकामा रसुवाबाट भित्रिएका ८ वटा मालबाहक ट्रक बरामद गरेपछि तस्करहरुले केरुङ नाका नै ठप्प पारेका छन् । विभागले भन्सारछलीको आशंकामा बिहीबार र शुक्रबार ती ट्रक बरामद गरेको हो ।

रसुवा भन्सार कार्यालयबाट भित्रिएका ती ट्रकमा करोडौंका भन्सारछलीका सामान भित्रिएको सूचनापछि राजस्व अनुसन्धान विभागले बरामद गरेको जनाएको छ । विभागका महानिर्देशक बुढाको सचिवालयका अनुसार ८ वटा ट्रक अनुसन्धानका लागि बिभागमा ल्याइएको छ । भन्सारछली भएको छ कि छैन, अनुसन्धानपछि मात्र थाहा हुन्छ ।

विभाग स्रोतका अनुसार एक बर्षदेखि रसुवा भन्सार कार्यालयमा सेटिङ गरी भन्सारछलीका कपडादेखि इलेक्ट्रिक सिगरेट(भेप) र जुत्ता लगायतका सामान आयात गर्दैआएका ब्यापारीहरु बुद्धराज बस्नेत, सुवास तिमल्सिना, वाङछिरिङ तामाङ, अमृत कार्की, रमेश श्रेष्ठ (खाडीचौर) र जनार्दन त्रिपाठीका ट्रक राजस्वले बरामद गरेको हो । ना ३ ख ५१९४, वाङछिरिङको सामान लोड भएका २२१६, ७२२१ र ना ३ ख ७६०३ नम्बरका ट्रक बरामद भएका छन् ।

बुद्धराज बस्नेत र सुवास तिमल्सिनाले विगत १ बर्षदेखि रसुवा भन्सारबाट सेटिङमा तस्करी गर्दैआएको सूचना राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाले पाएपछि बिशेष सूचनाका आधारमा ट्रक बरामद गरेको स्रोतले बताएको छ ।

बुद्धराज बस्नेत सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष हुन् । उनले गतबर्ष डा. प्रकाशशरण महत अर्थमन्त्री भएदेखि उनका भान्जा अरुण थापासँग मिलेर रसुवा भन्सार कार्यालयमा सेटिङ गरी तस्करीका सामान भित्र्याउने गरेका छन् । महतको बहिर्गमनपछि आएका अर्थमन्त्री बर्षमान पुनसँग पनि उनले माओवादी ब्यापारी इश्वर गुभाजुमार्फत् सेटिङ गरी रसुवा नाकामा सेटिङ गरी तस्करी गराउँदैआएका छन् । यसअघिका राजस्व अनुसन्धान विभागका डीजी नवराज ढुंगानासँग उनले सेटिङ गरेकाले विगत ८ महिनामा एउटा ट्रक पनि बरामद भएनन् ।

भन्सार बिभागका तत्कालीन महानिर्देशक शोभाकान्त पौडेलले गएको पुसमा अनुगमन गरी बुद्धराज बस्नेत, सुवास तिमल्सिना र उमेश प्रधानको समूहका तस्करीका ट्रक बरामद गरेपछि २० दिन भन्सारबाट सामान नै आयात ठप्प पार्ने काम उनीहरुले गरेका थिए । तस्करी गर्न पाउनुपर्ने माग राखी बस्नेतहरुले भन्सार नाका ठप्प पारेका थिए ।

बस्नेतले भन्सार नै ठेक्कामा लिएर प्रतिगाडी २ लाखका दरले लिएर न्यून बिजकीकरण गर्ने वा ब्रान्डेड सामानलाई कमसल घोषणा गरी भित्र्याउँदैआएका छन् । बुद्धराज बस्नेत र सुवास तिमल्सिनाको सेटिङमा कपडा र जुत्तामा भेप समेत हालेर ल्याएको भन्सार विभागको अनुगमनमा फेलापरेको थियो ।

एक बर्षको बीचमा सेटिङमा तस्करी गर्दै उनले अथाह सम्पत्ति आर्जन गरी त्यसकै बलमा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष जितेका छन् । राजस्व अनुसन्धान विभागका महानिर्देशक बुढाले रसुवा भन्सार विभागको महानिर्देशक हुँदा पनि रसुवा भन्सारबाट आउने सामानको निरन्तर अनुगमन गर्दैैआएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७