गठबन्धन सरकारमा भए पनि मनमा चैन छैन, धेरै भनौं पत्रिकामा छापिइहाल्छ फेरि : अध्यक्ष नेपाल


०९:०८ बजे

चितवन । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन नभएको बताएका छन् । चितवनमा पार्टीको १० औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धन कुन दिनमा के हुने हो भन्ने स्थिति नरहेको बताएका छन् ।

‘अहिले हामी यो गठबन्धनमा छौं । अल्ली चैन भइराख्या छैन । मनको चैन भइराख्या छैन । व्यवहारमै होला समस्या । अब कुन दिनमा के भइहाल्ने हो भन्ने स्थिति छैन,’ उनले भने, ‘धेरै भनौं पत्रिकामा छापिइहाल्छ फेरि ।’ अध्यक्ष नेपालले विगतमा गरेका गल्तीबाट सुध्रिए वामपन्थी एकताको विषयमा कुनै आपत्ति नरहेको बताएका छन् । उनले एकीकृत समाजवादी पार्टीले कुनै आग्रह पालेर नबसेको बताए ।

‘विगतमा वामपन्थी एक हुँदा पार्टी विधान र देशको संविधानलाई कुल्चिने काम भयो, ठग्ने, लुट्ने, चुस्ने, भ्रष्टाचार गर्ने प्रवृत्ति हाबी भयो । त्यो अवस्थामा हामीले विद्रोह नगरेको भए संविधान मिच्ने प्रवृत्ति हाबी हुन्थ्यो, आफूलाई मन नपरेका मान्छे सबैलाई पाखा लगाइदिने हाबी हुन्थे,’ नेपालले थपे, ‘तर अब सुध्रिए भने कुनै आपत्ति छैन, सुध्रियोस् भन्ने हाम्रो चाहना छ । हामी आग्रह पालेर बसेको छैनौं ।’

उनले समाजवादी मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने पनि बताए । हाल चार वटा वामपन्थी पार्टी रहेको मोर्चामा अन्य समाजवादी शक्ति पनि आउन सक्ने उनले बताए । ‘विगतको कमजोरीको आत्मसमीक्षा गर्न तयार हुनुपर्यो, त्रुटि सच्चाएर आउनुप¥यो,’ उनले भने । अध्यक्ष नेपालले संविधान, गणतन्त्रलाई मास्न खोज्ने शक्ति क्रियाशील रहेकाले उनीहरूलाई परास्त पार्न एक हुनु जरूरी रहेको बताए । पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्युनिष्ट पार्टीहरूबीच एकता आवश्यक रहे पनि पहिले जस्तो एकताको अर्थ नरहेको बताए । कम्युनिष्ट पार्टी मिल्दा संसदमा झण्डै दुई तिहाइ सांसद भए पनि पनि कुनै गतिलो काम गर्न नसकेको उनले बताए ।

उनले अवको चुनावमा एक्लै लड्ने समेत बताए । ‘जति भोट आओस्, १० भोट मात्रै आए पनि आओस् । तर कोहीसँग गठबन्धन नगरी एक्लै लड्नु पर्छ,’ उनले भने, ‘अहिलेको उपनिर्वाचनले हामीलाई पनि शिक्षा दिएको छ । राम्रो तयारी गरेर अघि बढ भनेको छ । तयारी गरेर अघि बढ्छौं ।’ जिल्ला अधिवेशनमार्फत पार्टीको नेतृत्व गर्ने नेताहरू अरुणपीडित भण्डारी, कृष्णराज न्यौपाने ‘लब्ली’, विष्णुराज महतो र नरेन्द्र कन्दङ्वाले आकांक्षा राखेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७