पशुपतिनाथ मन्दिरमा एक अर्बको सुनको जलहरि, ९० किलो सुन लाग्ने


०१:२४ बजे
काठमाडौं, २२ जेठ । विश्व सम्पदा सूचीमा सूचीकृत संसारभरका वैदिक सनातनी हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्ग मुनिको जलहरि सुनको बनाइने भएको छ । पशुपति क्षेत्र विकास कोष कार्य सम्पादन समितिले सुनको जलहरि राख्ने निर्णय गरी तयारी थालेको छ । शिवलिङ्ग मुनि हाल चाँदीको जलहरि राखिएको छ । आगामी महाशिवरात्रिसम्म सुनको जलहरि हालिसक्ने गरी काम अघि बढाइएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । सुनको जलहरि राख्न एक अर्ब खर्च लाग्ने कोषको प्रारम्भिक अनुमान छ । यसका लागि हाल कोषसँग ६० करोड रूपैयाँ बजेट छ । बाँकी बजेट भक्तजनसँग दानका लागि आह्वान गरिने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताए । सुनको जलहरि राख्न सहयोग गर्ने प्रतिबद्धता आउन थालेपछि कोषले सार्वजनि करुपमा विश्वभर फैलिएका भक्तजनसँग दान गर्न अनुरोध गर्ने तयारी गरेको हो । सरकारले आगामी आर्थिक वर्ष २०७५–२०७६ का लागि प्रस्ताव गरेको बजेटमा पनि पशुपतिमा सुनको जलहरि राख्न ५० लाख रूपैयाँ बजेट विनियोजन गरिएको कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले बताए । मूल मन्दिरमा सुनको जलहरि राख्नका लागि निर्माण समितिको पनि गठन गरिएको छ । पशुपतिनाथका मूल पुजारी रावल गणेश भट्टको संयोजकत्वमा गठन गरिएको समितिमा कोषाध्यक्ष डा मिलनकुमार थापा, सञ्चालक परिषद् सदस्यद्वय रमेशराज शिवाकोटी र राजु खत्री, कार्यकारी निर्देशक रमेशकुमार उप्रेती, कोषको संस्कृति महाशाखा प्रमुख निर्देशक भरत मरासिनी सदस्य छन् । समितिको सदस्य सचिवमा कोषका प्रमुख लेखा अधिकृत प्रेमहरि ढुंगाना रहेका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले बताए । जलहरि राख्नका लागि ९० किलो सुन लाग्ने अनुमान गरिएको छ । हाल रहेको चाँदीको जलहरिमा १८५ किलो राखिएकाले त्यति नै सुन राख्नुपर्ने मत पनि छ । जलहरि बाक्लो बनाउनुपर्ने भएकाले चाँदी जति नै सुन राख्नुपर्ने विषयमा पनि आजै बसेको समिति बैठकमा छलफल भएको छ । बैठकले सात दिनभित्र जलहरि निर्माण कार्य्विधि बनाउने निर्णय गरेको कार्यकारी निर्देशक उप्रेतीले जानकारी दिए । तीन दिनभित्र प्राविधिकलाई अध्ययन गराई जलहरि बनाउन लाग्ने सुनको परिमाण सार्वजनिक गर्ने कोषले जनाएको छ । सुनको जलहरि राख्नका लागि भक्तजनले सुन नै पनि दान गर्न सक्नेछन् । पशुपतिनाथलाई ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रुपमा पूजिन्छ । पशुपतिनाथलाई आदि ज्योतिर्लिङ्गका रुपमा विभिन्न धार्मिक ग्रन्थमा व्याख्या गरिएको छ । हिमालयको काखमा उत्पत्ति हुनुभएका शिवजीको महत्व शिवपुराण, लिङ्ग पुराणलगायत धर्मशास्त्रमा उल्लेख गरिएको छ । पशुपतिनाथको मूल मन्दिरको ज्योतिर्लिङ्गको शिरमा सबैको श्रीवृद्धि होस् भन्ने कामनाका साथ दैनिक श्रीयन्त्रको पूजा गरिन्छ । यस्तो ज्योतिर्लिङ्गको पृष्ठभूमिमा सुनको जलहरि स्थापना गरेपछि देश विदेशमा अझ बढी वैभवता फैलने विश्वास गरिएको छ । पशुपतिनाथमा आधुनिक कालको शुरुमा राजाकी छोरीले चाँदीको जलहरि निर्माण गराएको विश्वास छ । सुनको जलहरि निर्माणसँगै कोषले पशुपति क्षेत्रका सम्पदाको अभिलेखीकरण पनि शुरु गर्ने जनाएको छ । अभिलेखलाई पुस्तकाकारमा प्रकाशन गरिने जनाइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७