चार हजारको आफ्नै सामानले आधा जीवन कारगारमा


१०:३८ बजे
कञ्चनपुर, २२ जेठ । युवा अवस्थामै कमाउनका लागि भारत पुगेका शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ५५ वर्षीय गणेश ऐरले आधा जीवन जेलमा बस्नु पर्ला भनेर सपनामा समेत चिताएका थिएनन् । कमाउनका लागि भारततर्फ जाने बेला चार हजार मूल्य बराबरका क्यामेरा, क्यामेराको रिल, टेपरेकर्डर र आवश्यक कपडा बोकेर निस्किएका उनी त्यही सामानले भारतमा २४ वर्ष जेल जीवन बिताउन बाध्य बनायो । पञ्जाव प्रान्तको जालन्धर नाकामा भारतीय प्रहरीले जाँच गर्दा झोलामा ती सामान फेला पारेपछि तस्करीको आरोपमा उनलाई जालन्धरको कपुरथला सेन्टर कारागारमा पु¥याइयो र उनले पूरै युवा उमेर सोही कारागारमा बिताए । कारागारबाट छुट्नका लागि वकिलको व्यवस्था गर्न नसक्दा र आफन्तले खोजखबर नपाउँदा लामो समय कारागार बस्नु परेको ऐरले बताए । ‘कारागारमा रहँदा दुई छाक खान बाहेक अन्य सुविधा दिइएको थिएन’, उनले भने, ‘कारागारमा कैदीका लागि खाना पकाउने र कपडा सफा गर्ने कार्यमा लगाइन्थ्यो तर, अन्य कैदी सरह दैनिक दिइने पैसा समेत दिने गरिएको थिएन ।’ कमाउने पूरै उमेर कारागारमा बिताएपछि छ महिनाअघि उनलाई रिहाइ गरिएको हो । रिहाइ भएपछि काठ बोक्ने ट्याक्टरमा काम गर्न थालें । सोही क्रममा नेपालीसँग भेट भयो । मैले तपाईंहरु नेपाली हो भनेर सोधे उनले भने, ‘उनीहरुले नेपाली भएको बताएपछि आफ्नो सबै कथा व्यथा सुनाएँ ।’ उनीहरुले फेसबुकमा मेरो फोटो र अवस्थाबारे लेखेर नेपालमा रहेका आफन्तलाई पठाए । छोराहरुले जानकारी पाएपछि खोज्दै भारत पुगेर भेटी घरमा ल्याए । सोमबार मात्रै उनी घरमा पुगेका हुन् । जेठो छोरा आठ वर्ष र कान्छो छोरा डेढ वर्षको छँदा उहाँ भारततर्फ लागेका थिए । श्रीमतीले छोराले फेसबुकमा देखाइएका बुबा नै भएको बताएपछि उनीहरु चार दिनका लागि भारत जाँदैछौँ भनेर गएका गणेशकी श्रीमती ईश्वरीदेवीले भनिन्, ‘धेरै ठाउँमा खोजतलास गर्दा समेत भेटाउन सकेका थिएनौं ।’ ‘यहाँबाट भारत जाने क्रममै भारतीय प्रहरीले तस्करीको आरोप लगाएर कारागार पु¥याएछन् । पूरै जीवन कारागारमा काटे पनि मर्ने बेला भेट्न पाउँदा निकै खुशी छौं”, उनले बताइन् । भारतका धेरै ठाउँमा खोजतलास गर्दा समेत नभेटेपछि कुसको मूर्ति बनाएर किरिया गर्ने भनेर आफन्तमा कुरा चल्दै थियो भतिजा रमेशबहादुर ऐरले भने, ‘भेटिएपछि खुशीको सीमा नै रहेन ।’ वर्षौंअघि हराएका उनी भेटिएपछि गाउँका सबै बासिन्दामा खुशीयाली छाएको छ । गाउँका सबैजना भेट्न उनको घरमा जम्मा हुन थालेका छन् । कारागार पर्नुअघि र परेपछिको कुरा भेट्न आउने सबैलाई गणेशले बिना हिचकिचाहट सुनाउने गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७