उपप्रधानमन्त्री खड्का र बेलायती राजदूतबीच भेट, भूपु गोर्खाको समान पेन्सनबारे चासो
काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग नेपालका लागि बेलायतका आवासीय राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् ।
रक्षा मन्त्रालयमा बिहीबार भएको भेटमा नेपाल र बेलायतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितलाई थप प्रवर्द्धन गर्ने क्रममा विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रकाश पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
उपप्रधानमन्त्री खड्कालाई नवनियुक्त राजदूत फेनलाई स्वागत गर्दै बेलायत र नेपालबीच सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै उनको नेपाल बसाइको क्रममा दुई देशबीचको सम्बन्धलाई थप फराकिलो बनाउँदै नयाँ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । भेटवार्ताका क्रममा उनले सेवा निवृत्त ब्रिटिस गोर्खा सैनिकलाई समान पेन्सन लगायतका सुविधाहरू उपलब्ध गराउने सम्बन्धमा संयुक्त अधिराज्य सरकारबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, राजदूत फेनले दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको र यसबीचमा दुई देशको सम्बन्धले नयाँ उचाइ लिएको बताए । भेटमा रक्षा र परराष्ट्र मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।