समिटले मुगुमा अलपत्र पारेका १६ डाक्टरलाई लिन निगमको जहाज पठाइयो


२०८० असोज ९ मंगलबार ११:०७ बजे

काठमाडौं । मुगुको ताल्चामा छुटेका चिकित्सकहरु लिन नेपाल एयरलाइन्सको जहाज पठाइएको छ । नेपाल वायुसेवा निगमले आज (मंगलबार) बिहान मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन छुटेका १६ जना चिकित्सलाई लिन आफ्नो जहाज पठाएको हो ।

संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले ताल्चा विमानस्थलमा छुटेका चिकित्सकहरुलाई गन्तव्यमा पुर्‍याउन निगमको जहाज पठाइएको जानकारी दिएका छन् । ‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउने छुटेका चिकित्सकहरूको खबरले दुःखित बनायो’, जहाजको तस्बिरसहित मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ ।’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कन्फ्रेन्स गरेर फर्किने क्रममा १६ जना चिकित्सक मुगुमा अलपत्र परेका हुन् । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेताहरूका कारण उनीहरु त्यहाँ अलपत्र परेका हुन् ।

उक्त टोलीमा रहेका डा. प्रमोद लामिछानेले बिहान जहाज चढ्ने क्रममा एकाएक केही माओवादी नेताहरु समेत लैजानुपर्ने भएकाले सबैलाई लिन नसकिने बताएको जानकारी दिएका छन् । आफूहरु १६ जना भएकाले केही मात्रै नजाने भनिएपछि छाडेर समिट एअरको जहाज उडेको उनले बताए ।

माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरू उक्त जहाजबाट नेपालगञ्ज फर्केका छन् । डा. लामिछानेले भने, ‘एकाएक नेताहरुका लागि सिट चाहिने भएकाले सबैलाई लिन नसकिने जानकारी आएपछि हामी कोही पनि जहाजमा चढेनौं । सबै यहीँ अलपत्र अवस्थामा छौं ।’

चिकित्सकहरुको समूहले दुई हप्ताअघि नै आउने–जाने टिकट लिएको थियो । उक्त टोलीमा डा. विमल पाण्डे, डा. व्यापक पौडेल, डा. सुरज बज्राचार्य, डा. गौरव ढकाललगायत रहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले चिकित्सकको टोली त्यहाँ रोकिनु दुखद् भएको बताए । उनले भने, ‘आफूलाई पर्दा उहाँहरु (विशेषज्ञ चिकित्सक) को समय मिलाइ दिन हामीलाई फोन गर्नु हुन्छ । अहिले उहाँहरुलाई रोकेर नेताहरु आउनु राम्रो भएन ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७