मोरक्को भूकम्प : ज्यान गुमाउनेको संख्या एक हजार जना नाघ्यो


२०८० भदौ २४ आइतबार ११:०४ बजे

काठमाडौँ । मोरक्कोमा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या एक हजार जना नाघेको छ । अहिलेसम्म एक हजार ३७ जनाको शव भेटिएको र भग्नावशेषमा पुरिएकाहरुको खोजी भइरहेको मोरक्को सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सयौं घाइतेहरुको अस्पतालमा उपचार भइरहेको तर एकिन विवरण प्राप्त नभएको पनि बीबीसीको खबरमा उल्लेख छ । रातिको समयमा ‘हाइ एट्लस माउन्टेन्स’ केन्द्र विन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । धेरै भवनको भग्नावशेषमा मान्छे पुरिएको आशंकामा खोजी भइरहेको छ । मानिसहरु सडकमा बसिरहेका छन् । स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको हो । त्यसको १९ मिनेटपछि ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको थियो ।

भूकम्पले ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका बताउँदै यहाँको सरकारले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।
अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । भूकम्प भयानक भएको ३३ वर्षीय अब्देलहक एल अमरानीले बताएका छन् । उनले बच्चाहरू रोइरहेको आवाज सुनेका तथा किंकर्तव्यविभूढ अभिभावकहरूलाई देखेको बताएका छन् । १०श मिनेटसम्म बिजुली टेलिफोन सेवा बन्द भए पनि पछि सेवा सञ्चालन भएको उनले बताए ।

सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिनाइ भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ । ती स्थानमा उद्धारकर्ताहरू पुग्न केही दिन लाग्न सक्छ । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन ।

यसैबीच, विश्वका विभिन्न मुलुकका नेताहरूले मोरक्को सरकारप्रति सहानुभूति प्रकट गर्दै सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जी २० शिखर सम्मेलनमा भागलिने सिलसिलामा भारतको राजधानी नयाँदिल्लीमा रहेका बेलायतका प्रधानमन्त्री ऋषि सुनकले मोरक्कोलाई आफ्नो देशले हरसम्भव सहयोग गर्ने बताएका छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मोरक्कोलाई सहयोग गर्ने प्रस्ताव गरेका छन् भने फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले पनि मोरक्कोका भूकम्पपीडित जनता र त्यहाँको सरकारप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७