महासचिव पोखरेल नेतृत्वको टोलीले गर्याे चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन
बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमणमा रहेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डलले आज (शनिबार) बेइजिङस्थित चिनियाँ कम्युनिष्ट पार्टीको सङ्ग्रहालय अवलोकन गरेको छ ।
महासचिव पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले गरेको सङ्घर्ष र असाधारण बलिदानको जगमा उभिएको चीनको गौरवमय वर्तमानलाई नजिकबाट बुझ्न सङ्ग्रहालयले सहयोग पुर्याएको धारणा व्यक्त गरेका छन् । महासचिव पोखरेलले सङ्ग्रहालयले चिनियाँ कम्युनिष्ट पार्टीको गौरवमय इतिहासलाई जीवन्त राखेको उल्लेख गरेका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका अग्रजले छिचोलेर आएको बाटो तथा देखाएको उज्यालोलाई सङ्ग्रहित गरिएको यस सङ्ग्रहालयले इतिहासको सम्झना र अग्रजप्रति सम्मान जगाएको छ’, महासचिव पोखरेलले भने । महासचिव पोखरेलसहित पार्टीको उच्चस्तरिय टोली यहि भदौ १६ गते चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन गएको हो । टोलीले चीनका मुख्य तीन शहरको अवलोकन भ्रमण गर्नेछ ।