सुडानी सेना प्रमुख कतारी अमिरसँग वार्ता गर्न दोहामा


११:११ बजे

काठमाडौं । सुडानी सेना प्रमुख अब्देल फताह अल बुर्हान कतारका अमिरसँग वार्ता गर्न दोहा आइपुगेका छन् । गत अप्रिल १५मा अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) सँग युद्ध सुरु भएपछि सेना प्रमुख बुर्हानको यो तेस्रो विदेश भ्रमण हो ।

कतारी समाचार समितिले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको फोटोमा जनरल बुर्हानलाई कतारको विदेश मन्त्रालयका राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजिज बिन सालेह अल खुलाईफीले स्वागत गरेको देखिन्छ ।

जनरल बुर्हान र कतारका शेख तमिम बिन हमाद अल–थानीबीच द्विपक्षीय सम्बन्ध, आपसी चासो र साझा हितका मुद्दाका साथै सुडानको अवस्थाका बारेमा छलफल हुने सुडानको सत्तारुढ सार्वभौम परिषद्ले एक विज्ञप्ति निकालेर बताएको छ । बुधवार अबेर सेना प्रमुख बुर्हानले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सलाई विघटन गर्ने आदेश जारी गर्दै राज्य विरुद्धको विद्रोह,उ सले सुडानी नागरिकविरुद्ध गरेका गम्भीर अपराध र देशका भौतिक पूर्वाधारमा नियतवश गरेका तोडफोडलाई दण्डित गर्न त्यसो गरिएको उल्लेख छ ।

खार्तुमको सैन्य मुख्यालय भित्र महिनौंको घेराबन्दीमा बिताएपछि जनरल बुर्हान गत महिना बाहिर निस्केर क्षेत्रीय सहयोगीहरूका साथ र समर्थन जुटाउन विदेश भ्रमणमा छन् । गत महिनाको अन्त्यमा, उनले आफ्नो पहिलो विदेश यात्रा सबैभन्दा पहिले इजिप्टको भ्रमण गरेर सबैभन्दा नजिकको सहयोगी एवं छिमेकी दक्षिण सुडान पुगेका उनले युद्धका प्रारम्भिक दिनमा मध्यस्थताका प्रयास बारम्बार असफल भएपछि कायरो र जुबा हुँदै अहिले दोहाको सहयोग खोजेका छन् । यद्यपि संयुक्त राज्य अमेरिका र साउदी अरबद्वारा मध्यस्थता गरिएको धेरै युद्धविराम उल्लङ्घन भएका थिए ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घले सुडानी शरणार्थीहरूको संख्या यो वर्षको अन्त्यसम्ममा दोब्बर हुनसक्ने चेतावनी दिएको छ । सेना प्रमुख बुर्हानका पूर्वसहायक मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको र्‍यापिड सपोर्ट फोर्स र सुडानी सेनाबीचको युद्ध राजधानी खार्तुम, पश्चिमी क्षेत्र डाफुरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ । युद्धमा परी हजारौँको मृत्यु भएको छ भने लाखौँ पलायन भएका छन् ।

सशस्त्र द्वन्द्वका सम्बन्धमा अनुसन्धान गरिरहेको एक संस्थाका अनुसार हालसम्म पाँच हजारभन्दा बढी सुडानीको मृत्यु भएको छ । यद्यपि मारिनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायहरूले युद्ध चर्केपछि सुडानबाट चार करोड ६० लाख सर्वसाधारण विस्थापित भएका जनाएका छन् ।

युद्धबाहेक अत्यधिक गर्मी, अनियमित विद्युत् आपूर्ति, खाद्यान्न, औषधि र अन्य दैनिक उपभोग्य वस्तुको चरम अभावले सुडानका जनताको जीवन अति कष्टकर भएको छ । केही समयअघि सुडानका लागि संयुक्त राष्ट्रसङ्घका मानव अधिकारविज्ञ राधुआने नुइसरले युद्धको भयावह अवस्थाको चित्रण गर्दै पूरै देशलाई बन्धक बनाइएको बताएका थिए ।

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि सेना प्रमुख बुर्हान र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो ।

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुर्हान समूहले लगाएको छ । आरएसएफलाई सेनामा समाहित गर्ने विषयमा सेना प्रमुख बुर्हान र आरएसएफ प्रमुख डगालोबीचको मतभिन्नता निरुपण नहुँदा समस्या बल्झेको विश्लेषकहरूले बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७