थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिनको जेल सजाय सात वर्ष घट्यो


१०:०४ बजे

काठमाडौं । थाइल्याण्डको जेलमा रहेका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको जेल सजाय घटाइएको छ । १५ वर्षको निर्वासनबाट फर्केको केही दिनपछि शुक्रबार त्यहाका राजाले उनको जेल सजाय आठ वर्षबाट घटाएर एक वर्ष कायम गरेका हुन् ।

भ्रष्टाचार र पदको दुरुपयोग गरेको आरोप लागेका अर्बपति ७४ वर्षीय पूर्वप्रधानमन्त्रीले शाही माफीका लागि निवेदन दिएको एक दिनपछि यो कदम चालिएको बीबीसीले लेखेको छ । सन् २००६ को सैन्य ‘कू’पछि अपदस्थ भएका थाक्सिन सन् २००८ पछि पहिलो पटक थाइल्यान्ड फर्केलगत्तै गत साता जेल चलान भएका थिए ।

राजा महा वजिरालोङकोर्नबाट आंशिक क्षमादानको आधिकारिक पुष्टि राजपत्रमार्फत गरिएको हो । घोषणाले प्रधानमन्त्रीका रूपमा देशको लागि उनको सेवालाई सङ्केत गरेको थियो । विज्ञप्तिमा भनिएको छ, ‘थाइ नरेशले उहाँलाई आममाफी दिनु भएको छ । थुनामा रहेका थाक्सिन सिनावात्रालाई तोकिएको जेल सजायमा आंशिक क्षमादान गर्दै सजायलाई एक वर्षमा झारिएको छ । उहाँले आफ्नो विशेषज्ञता र अनुभवलाई देशलाई थप विकास गर्न प्रयोग गर्न सक्नुहोस् ।’

पूर्वटेलिकम टाइकुन र म्यानचेस्टर सिटीका मालिक थाक्सिन आधुनिक थाई इतिहासमा सबैभन्दा प्रभावशाली तर विभाजनकारी व्यक्तिहरूमध्ये एक मानिन्छन् । थाक्सिन र उनका सहयोगीहरूलाई सत्ताबाट बाहिर राख्ने संस्थापन पक्षको प्रयासले विगत दुई दशकमा थाई राजनीतिको अधिकांश भाग रङ्गिएको छ । उनका समर्थकहरूले उनलाई बैङ्ककमा अवतरण गर्दा नायकको रूपमा स्वागत गरेका थिए । त्यसलगत्तै उनलाई पक्राउ गरिएको थियो ।

थाक्सिनसँग सम्बन्धित पार्टीहरूले सन् २००१ देखि यस वर्षसम्मका हरेक थाई चुनावमा प्रभुत्व जमाएका थिए । तर, यो वर्षको निर्वाचनमा प्रगतिशील मुभ फरवार्ड पार्टी (एमएफपी) ले सबैभन्दा बढी सिट जितेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७