संविधानमा त्रुटि छ, गणतन्त्र अझै मजबुत छैन : उपेन्द्र यादव

पर्सा । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधानमा अहिले पनि त्रुटि रहेको बताएका छन् । उनले संविधान जारी भएको आठ वर्ष बिते पनि संघीय गणतन्त्र मजबुत हुन नसकेको बताए ।
‘नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्ष भयो । तर संघीय गणतन्त्र अझै मजबुत हुन सकेको छैन । संविधान जारी भएको ८ वर्षमा पनि संघीयतालाई मजबुत गर्न सकेन । ८ वर्षमा ८ वटा कानुन पनि बन्न सकेको छैन,’ उनले भने । उनले संविधानमा धेरै त्रुटि भएकै कारण ८ वर्षमा पनि संघीयता कार्यान्वयन हुन नसकेको बताए । गणतन्त्र स्थापना भएको १५ वर्षमा १५ वटा उद्योग पनि स्थापना हुन नसकेकोप्रति दुःख व्यक्त गरे ।
उनले मधेसमा प्रदेश सरकार भए पनि आफ्नै प्रहरी, प्रशासन, कर्मचारी र न्यायालय नभएको बताए। गाडी र झण्डा दिँदैमा सरकार पाए भनेर खुशी हुनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ ।
‘
प्रदेश सरकार त छ । तर न प्रहरी छ, न प्रशासन छ, न कर्मचारी छ, न न्यायालय छ, न स्रोतमा अधिकार छ । अनि कस्तो सरकार हो । यो हालत छ प्रदेशको । आज पनि प्रहरी समायोजन भएको छैन । मधेस प्रदेश छ, प्रहरी अर्कैको छ । मधेस प्रदेशको प्रहरी कहिले हुन्छ ? मधेसको कर्मचारी कहिले हुन्छ ?,’ उनले प्रश्न गरे ।
उनले आन्दोलनबाट भएका उपलब्धिहरू खतरामा रहेको बताएका छन् । संघीय गणतन्त्र स्थापनाका लागि आफूहरू (प्रधानमन्त्री पुष्पकमल दाहाल र विप्लवलाई देखाउँदै) को भूमिका अहम् रहेको बताउँदै उनले ती उपलब्धिहरू खतरामा रहेको बताए ।