६० किलो सुनका विचौलियाको सूचना मसँग पनि छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेताका सन्तानले शक्तिको दुरुपयोग गरिरहेको बताएका छन् । आज (बुधबार) को प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नेताका छोराछोरीको व्यवहार निन्दनीय भएको बताए ।
‘बाबु–आमाले युद्ध, गोलीसँग नडराएर, ज्यानको बाजी लगाएर युद्ध आन्दोलन परिवर्तनका लागि गरेको त्याग तपश्याको बलमा आएका नव युवराजहरुको र उहाँहरुको छोराछोरीको कुन अवस्था आएको छ, छोराछोरी पुस्ताले गरेको नाच निन्दनीय छ’, उनले भने । सभपाति लामिछानेले भुुटानी शरणार्थी प्रकरणमा काम गरिरहेका प्रहरीको सरुवा भएको, सुन प्रकरणमा सत्तारुढ दलको नेतहरुको नाम आउने बित्तिकै सरकार सुस्ताएको भन्दै सरकारले दिन खोजेको सुशासन यही हो भन्दै प्रश्न गरे ।
सभापति रवि लामिछानेले ६० किलो बढी सुन प्रकरणका केही बिचौलियाको सूचना आफूसँग पनि रहेको दावी गरे । सरकारको बहालवाला महानिर्देशक नै अहिले समातिएका अभियुक्तसँग सम्पर्कमा रहेको लामिछानेले बताएका हुन् । ‘सरकारका एक वहालवाला महानिर्देशकले सुन आएको कुराको जानकारी अहिले समातिएका दावा नाम गरेका व्यक्तिलाई दिएका छन्,’ प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले भने, ‘ती महानिर्देशकले फोटो समेत पठाएको जानकारी इमान्दार केही देशभक्त प्रहरीहरूले विश्वास गरेर मलाई दिएका छन्। म तिनलाई सलाम गर्न चाहन्छु । जसले देशलाई माया गरेर यो सूचना दिएका छन् ।’
यसमा संलग्न केही विचौलियाहरूको जानकारी आफूलाई पनि भएको र यसको सूचना सम्बन्धित निकायलाई अवश्य पनि गराउने उनले बताएका छन् । ‘हामी पुलिसको सरुवा बढुवामा आँखा लाएर बसेका छौँ । आर्थिक अवस्थामा टाट पल्टिन लागेको देशमा लज्जास्पद के हुन्छ ?’, उनले भने । उनले यतिका दिनसम्म संसद् किन र कसले बन्द गर्यो, जनताको आवाज राख्ने र कयौँ विधेयकका छलफल गर्ने सदन किन बन्द भयो ? भन्दै प्रश्न गरे । उनले छानबिन समिति बने पनि विगतमा बनेका छानबिन समितिले के गरे, कसो गरे प्रष्ट नेपाली जनतामाझ रहेको उल्लेख गरे ।