कोशीका मुख्यमन्त्री थापाविरुद्ध एमाले दोस्रो पटक सर्वोच्चमा, प्रदेशसभा बहिष्कार
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका इसराइल मन्सुरीले पनि मत दिएपछि त्यसविरुद्धको रिट लिएर एमाले नेताहरू सर्वोच्च अदालतमा पुगेका छन् ।
कोशी प्रदेशस्थित एमाले संसदीय दलका नेता हिक्मत कार्कीले आफूहरूले सर्वोच्चमा रिट दिएको र दर्ता हुने प्रक्रियामा रहेको जानकारी दिएका छन् । एमालेले मुख्यमन्त्री थापाले संविधान मिचेर विश्वासको मत लिएको दाबी गरेको छ । मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिएका थिए । त्यसको पर्सीपल्ट अर्थात् बुधबार एमाले नेताहरू सर्वोच्च पुगेका हुन् ।
यसअघि थापा नै तत्कालीन सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षर लिएर मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेले त्यसविरुद्ध पनि सर्वोच्चमा रिट दायर गरेको थियो । त्यसबेला सर्वोच्चले थापाको नियुक्ति नै गैरसंवैधानिक भन्दै खारेज गरिदिएको थियो ।
दोस्रो पटकको नियुक्तिमा भने सभामुख गौतमलाई राजीनामा गराएर मुख्यमन्त्री नियुक्त भएका थिए । तर, विश्वासको मत लिने बेलामा उपसभामुख र एमाले तथा राप्रपाका ज्येष्ठ सदस्यहरू अनुपस्थित भएपछि गठबन्धनकै सांसदले सभाको अध्यक्षता गरेका थिए । यता एमाले र राप्रपाका सांसदहरूले बुधबारका लागि बोलाइएको कोशीको प्रदेशसभा बैठक बहिष्कार गरेका छन् । मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै उनीहरूले नाराबाजी गर्दै बैठक बहिष्कार गरेका हुन् ।