प्रहरी सहयोगीको हत्या, राष्ट्रिय अनुसन्धान अधिकृतकाे गाडीमा शव
बारा । बाराको सिमरास्थित सिमरा विमानस्थल प्रहरी चौकीमा कार्यरत कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्या गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको आमाढार–रमौली सडक खण्डमा रुम्बाको शव शनिबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको थिए ।
बागमती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार सडकको छेउमा रोकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त कार राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीको हो । मृतकको चोट हेर्दा गोली प्रहार वा धारिले हतियार प्रयोग गरिएको अनुमान प्रहरीको छ । बारा प्रहरीले घटनास्थलमा रगत केही मात्र भेटेका कारण घटना अन्य स्थलमा गराइ मृत्युपश्चात कारमा राखेर ल्याएको हुनसक्ने अनुमान छ । प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार रुम्बाको टाउकोमा गहिरो घाउ देखिएको छ।
उनले भने, ‘घाउ धारिलो हतियारको प्रहारले भएको हो वा बन्दुकले हानिएको हो, पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन गर्न सकिन्छ ।’ रुम्बाको हत्या शुक्रबार राति वा शनिबार बिहान भएको भन्नेबारे अनुसन्धान भइरहेको खड्काले बताएका छन् । प्रारम्भिक अनुसन्धानमा शव रहेको कार सिमरा विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धानका एक प्रहरी निरीक्षकको भएको खुलेको छ । रुम्बाले उक्त कार आफैं चलाएको देखिए पनि घटनाको समय उनी कारभित्र एक्लै थिए कि कार मालिक पनि त्यहाँ थिए भन्ने कुरा पुष्टि हुन बाँकी रहेको प्रहरी उपरीक्षक खड्काले जनाएका छन् । हत्याको थप अनुसन्धान भइरहेको छ ।