भक्तपुरको सुधार गृहबाट फरार २२० बन्दीमध्ये ९२ जना समातिए, १२८ को खोजी हुँदै
काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट भागेका २२० कैदीबन्दीमध्ये ९२ जालाई फेरि पक्राउ गरिएको छ । फरार भएकामध्ये ९२ जनालाई भक्तपुर र काठमाडौंबाट पुनः समातिएको हो । दुई सय बढी बन्दीहरु भागेपछि भक्तपुरदेखि काठमाडौंसम्मै तनावको अवस्था सिर्जना भएको छ । लाठी र भालासहित ढोका फोडेर भागेका उनीहरुले बन्दीगृहको पछाडिको ढोका फुटाएका थिए । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाका अनुसार अझै १२८ जना फरार रहेका छन् ।
बन्दीगृहका ४३ जना कैदीहरु भने भागेका छैनन् । उनीहरुलाई अहिले सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ । तनावका क्रममा सशस्त्र प्रहरी, प्रहरी र कैदीबन्दीसहित २१ जना घाइते भएका छन् । भाग्ने क्रममा कैदीहरुलाई रोक्न खोज्दा प्रहरी पनि घाइते भएका हुन् ।
कैदी भाग्ने क्रममा झडप हुँदा सशस्त्र प्रहरीका ८ जना, नेपाल प्रहरीका ७ जना र ६ कैदीबन्दी घाइते भएका छन् । सुधार गृहमा जम्मा २९८ जना कैदीबन्दीलाई राखिएको थियो । तीमध्ये ४३ जना महिला छन् । भागेका कैदीबन्दीहरु लाठी र भालासहित काठमाडौंको कोटेश्वरसम्म आइपुगेका थिए । काठमाडौं, भक्तपुर र ललितपुरमा सुरक्षाकर्मीहरु हाई–अलर्टमा रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । ‘भागेर उपत्यकाका अरु जिल्लामा पनि गएको देखिएकाले सबैतिर प्रहरीलाई खबर गरेका छौं’, उनले भने ।
उनीहरुलाई भक्तपुर प्रहरीले पछ्याएर पक्राउ गरेको हो । आइतबार रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको रहस्यमय मृत्यु भएपछि बालसुधार गृह तनावपूर्ण बनेको हो । बालसुधार गृहभित्रका थुनुवाले सोमबार दिउँसो बन्दीगृह प्रशासनविरुद्ध नाराबाजी र तोडफोड गर्दै बाहिर निस्किँदा सुरक्षार्थ खटिएको प्रहरीले रोक्न खोजेको थियो । झडपपछि आक्रोशित भएका कैदीबन्दीले प्रहरीलाई लखेटेर बाहिर निस्किएका थिए ।
सुधार गृहले आइतबार बिहान बस्नेतको परिवारलाई उनको मृत्युको खबर दिएको थियो । तर उनको मृत्युको कारण पुष्टि नगरिएपछि आफन्त र कैदीबन्दी आक्रोशित थिए । आइतबार जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा एक छानबिन समिति बनाएको थियो ।