अविवाहित युवतीले जन्माएको नवजात शिशु, अस्पतालबाटै ‘गायब’, प्रेमीसहित दुई जना पक्राउ


२०८० भदौ ३ आइतबार २२:०१ बजे

मोरङ । विराटनगरस्थित ग्रीनक्रस अस्पतालबाट एक नवजात शिशु गायब पारिएको विषयमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । अविवाहित युवतीले जन्म दिएको शिशु गायब भएको हो । शिशु हराएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले अन्दाजी ६८ वर्षीय डाक्टर तपेश्वरलाल कर्ण र बच्चाको बाबु भनिएका पुरुषलाई पक्राउ गरेको हो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कर्ण विराटनगरस्थित कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट (पूर्व मेसु) हुन् । सरकारी सेवाबाट अवकाश पाएका उनले ‘दीपेश मेडिकल’ नामक क्लिनिक चलाउँदै आएका थिए । उनी ग्रीनक्रस अस्पतालमा पनि काम गर्छन् । घटनामा संलग्न भनिएका चिकित्सक अस्पतालमा भर्ना भएका छन् ।

सोही कारण थप अनुसन्धान गर्न कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । २६ वर्षीया युवतीले जन्म दिएको भनिएकी नवजात शिशुको खोजी र घटनाबारे अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी प्रवक्ता एवं डीएसपी रन्जनकुमार दाहालले बताएका छन् । दाहालका अनुसार गएको असार १३ गते ग्रीनक्रस अस्पतालमा भर्ना भएकी युवतीले भोलिपल्ट सामान्य प्रसूतिमार्फत छोरी जन्माएकी थिइन् ।

भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र ती युवतीबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । गर्भ बसेपछि प्रेमिका भनिएकी युवतीलाई राईले विराटनगर ल्याएका थिए । ‘प्रसूति व्यथा लागेपछि अस्पताल भर्ना गरिएको रहेछ’, डीएसपी दाहालले भने, ‘बच्चा त्यहीँ जन्मिएछ ।’ चिकित्सक तपेश्वरलाल कर्णले पहिले क्लिनिकमा गर्भवतीको परीक्षण गरी पछि आफू कार्यरत ग्रीनक्रस अस्पतालमा लगेर सामान्य प्रसूति गराएको पाइएको दाहालले जानकारी दिएका छन् । सामान्य रूपमा छोरीको जन्म भए पनि आफूलाई नदिई गायब बनाइएको विवरणसहित युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले अनुसन्धान थालेको हो ।

प्रेमी भनिएका राईलाई प्रहरीले पक्राउ गरेको छ । उनले अस्पतालमा आफ्नो नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ लेखाएको पाइएको छ । ठेगाना भोजपुर नलेखी सुनसरीको रामधुनी–११ जनाइएको थियो । अस्पतालबाट डिस्चार्ज भएपछि राईले युवतीलाई इटहरी लगेको र त्यहीँको होटेलमा राखेको उनले प्रहरीसमक्ष बयान दिएकी छन् । होटेलमा राखेर राई भागेको र फर्किएर नआएको युवतीले बताएकी छन् । आफूलाई शिशुबिनै होटेलमा पुर्‍याइएको उनको भनाइ छ ।

‘बच्चा विना नै टेम्पुमा राखेर उहाँले मलाई इटहरी पुर्‍याउनु भयो । बसपार्क छेउको होटेलमा कोठा लिएर राख्नु भयो । बच्चा खोइ भन्दा अस्पतालमै छ भन्नु भयो । दुई दिनपछि (असार १६ गते) मेरो काम छ, बस्दै गर्नु भन्दै होटेलबाट निस्किनु भयो’, युवतीले सुनाइन् । युवतीले भनिन्, ‘उहाँले मेरो बच्चा गायब बनाई फर्केर समेत नआएपछि मैले प्रहरीकहाँ उजुरी दिएकी हुँ ।’ आफू आठ दिनसम्म होटेलमै बसेको युवतीले बताएकी छन् । उनले दुई वर्षदेखि आफूहरु प्रेम सम्बन्धमा रहेको र बिहे गर्ने योजनामा रहेको पनि बताइन् ।

प्रसूति गराउने चिकित्सक बिरामी भई अस्पतालमा भर्ना भएकाले थप बयान लिन नसकिएको डीएसपी दाहालले जानकारी दिए । पक्राउ परेका राईसँग सोधपुछ गरे पनि चिकित्सकबाट नै थप कुरा आउने उनले बताए । चिकित्सक कर्ण उच्च रक्तचाप र मधुमेहका बिरामी हुन् । ग्रीनक्रस अस्पतालका अध्यक्ष कृष्ण खवासका अनुसार ९५० ग्रामको शिशु जन्मिएको थियो । ‘स्वास्थ्य समस्या देखिएकोले एनआईसीयूमा राखेर उपचार गर्न रेफर गरिएको थियो’, उनले भने, ‘अभिभावकको जिम्मा दिएको हो ।’ युवतीले भने आफूले आफ्नो बच्चा नपाएको प्रहरीमा बताएकी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७