बागमतीमा ४० हजार पशु चौपायालाई लम्पी स्किनविरुद्धको खोप


२०८० भदौ ३ आइतबार १२:०३ बजे

बागमती । बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका ४० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । लम्पी स्कीनरोग विरुद्धको एक हप्ते खोप अभियान अन्तर्गत खोप लगाइएको प्रदेश सरकारको पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार खोप अभियान अन्तर्गत चितवन जिल्लामा नौ हजार २५, दोलखामा दुई सय ८४, भक्तपुरमा नौ सय २१, ललितपुरमा एक हजार चार सय ३७, मकवानपुरमा पाँच हजार नौ सय ५६ र धादिङमा तीन हजार पाँच सय १० पशुमा लम्पी स्कीनविरुद्धको खोप लगाइएको छ ।

साथै सिन्धुलीमा दुई हजार चार सय ९०, रामेछापमा एक हजार नौ सय ४२, सिन्धुपाल्चोकमा एक हजार आठ सय ९९, काभ्रेपलाञ्चोकमा छ हजार ७७, नुवाकोटमा तीन हजार तीन सय ७७ तथा रसुवामा एक हजार एक सय ८८ पशुचौपायामा अर्थात गोरु तथा बाच्छावाच्छीमा लम्पी स्कीन विरुद्धको खोप लगाइएको हो ।

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार प्रदेशमा विगत एक वर्षमा लम्पी स्कीबाट छ हजार दुई सय ९१ गाईगोरु तथा बाच्छाबाच्छी मरेका छन् भने एक लाख १० हजार चार सय ४० गाई गोरु तथा बाच्छाबाच्छी संक्रमित भएका छन् । प्रदेशको आठ वटा भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रमार्फत खोपकर्ता नियुक्त गरिएको थियो । जस अन्तर्गत एक हजार ४६ जना खोपकर्ताले १३ जिल्लामा लम्पी स्कीन विरुद्ध खोप लगाएका छन् ।

अभियान अन्तर्गत खटिएका प्राविधिकले खोप लगाउनुका साथै पशुचौपायालाई कसरी स्वस्थ्य र सुरक्षित राख्ने विषयमा जानकरी समेत गराउने गरेको उनले बताए । प्रदेशमा अझै पनि एक लाख ५० हजारभन्दा बढी पशुचौपायालाई खोप लगाउनु बाँकी छ । मन्त्रालयका सचिव डाथलठ. शरणकुमार पाण्डे सप्ताहव्यापी खोप अभियान सकिए पनि खोप लगाउने अभियान भने जारी रहेको बताए ।

नेपालमा २०७७ साल साउनमा मोरङका पशुचौपायामा उक्त रोगको संक्रमण देखिएको थियो । लम्पी स्किन रोगको संक्रमणबाट ठूलो संख्यामा पशुचौपाया मरेका छन् भने दुग्ध उत्पादनमा समेत कमी आएको छ । गाई गोरु तथा बाच्छाबाच्छीमा उक्त रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दुग्ध उत्पादन कम हुने,  घाउँ खटिरा हुने, आँखा नाकबाट अत्यधिक मात्रमा सिगान बग्ने, लिम्फनोड सुनिने जस्ता लक्ष्य देखिने गरेका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७