सडकमा लत्रिएको तारबाट करेन्ट लाग्दा युकवको मृत्यु, विरोधमा पूर्व–पश्चिम राजमार्ग बन्द
कञ्चनपुर । कञ्चनपुरमा सडकमा लत्रिएको तारबाट करेन्ट लाग्दा एक युवकको ज्यान गएको छ । करेन्ट लागेर युवकको ज्यान गएपछि आक्रोशित आफन्त र स्थानीयले अहिले पूर्व पश्चिम राजमार्ग ठप्प पारेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गमा लतारिएको विद्युतको तार छुँदा ओडलाई बुधबार बेलुका करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक ओडको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागेर ज्यान गएको भन्दै आफन्त र स्थानीय आक्रोशित छन् ।
विरोधमा उनीहरुले बिहीबार बिहानैदेखि सुकासाल क्षेत्रमा पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । टायर बालेर राजमार्ग बन्द गराइएको हो । विद्युत प्राधिकरणको लापरबाहीले ज्यान गएको भन्दै मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग उनीहरुले राखेका छन् । ओडका तीन छोराछोरी छन् ।