नेपालमा पनि मनाइयो भारतको स्वतन्त्रता दिवस


२०८० श्रावण ३० मंगलबार १७:०९ बजे

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले आज ७७ औं स्वतन्त्रता दिवस मनाएको छ । यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’ कै हिस्साका रुपमा रहेको भारतीय राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समारोह शुभारम्भ गरे । राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिए ।
तत्पश्चात कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

राष्ट्रपति मुर्मूले आफ्नो सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरुले गरेका बलिदानको स्मरण गरिन् र देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरुबारे चर्चा गरिन् । राष्ट्रपतिले भारतको गाथाप्रति भारतीय डायस्पोरामा आफूले नयाँ विश्वास देखेको उल्लेख गरिन् । साथै उनले विकास एवम् मानवीय लक्ष्यलाई विश्वभर प्रवद्र्धन गर्न भारतले महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गरिन् । अन्तर्राष्ट्रिय मञ्चमा भारतले निर्वाह गरेको नेतृत्वदायी भूमिका विशेष गरी जी–२० को अध्यक्षताबारे राष्ट्रपति मुर्मूले उल्लेख गरिन् ।

सो अवसरमा भारतीय राजदूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई पाँच करोड ३३ लाख रकम वितरण समेत गरेको छ । कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुत गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७