इटालीमा रहेका प्रधानमन्त्री प्रचण्डसँग नेपाल आएका चिनियाँ नेताको ‘भर्चुअल’ संवाद


२०८० श्रावण ७ आइतबार १७:०५ बजे

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरे । उनी आइतबार बिहान इटाली पुगेका हुन् ।

प्रचण्ड इटाली गएको भोलिपल्ट अर्थात् आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युआन जियाजुन काठमाडौं आइपुगे । नेपाल भ्रमणमा रहेका जियाजुनसँग इटालीबाट प्रधानमन्त्री प्रचण्डले कुराकानी गरेका छन् । प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार आइतबार दिउँसो ४ बजे प्रचण्ड र जियाजुनबीच भर्चुअल रूपमा कुराकानी भएको छ । उक्त भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।

उक्त छलफल आइतबार अपरान्ह ४ बजेदेखि आधा घण्टा चलेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । ‘उहाँहरुबीच दुई मुलुकबीचको आपसी सहयोग र सहकार्यका विषयमा छलफल भयो,’ आचार्यले भने, ‘विदेशमै हुँदा नेपाल भ्रमणमा आउनु भएका चिनियाँ नेताहरुलाई प्रधानमन्त्रीले जुममार्फत नै स्वागत गर्नुभयो ।’

चिनियाँ टोली आइतबार बिहान काठमाडौं उत्रिएपछि राजनीतिक भेटघाटमा छ । राष्ट्रपति सी चिनफिङका विश्वासपात्र च्या च्युन प्रचण्डले निकट भविष्यमै गर्न लागेको चीन भ्रमणको तयारीका लागि नेपाल आइपुगेको बताइएको छ । प्रचण्ड आगामी भदौमा चीन भ्रमणमा जाने तयारी छ ।

च्युन नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबारै अपराह्न भेटवार्ता गर्ने कार्यक्रम थियो । पोलिटब्यूरो सदस्य युआनले आजै सिंहदबारमा कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग र उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्दैछन् । उनको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामिलाका कूटनीतिज्ञ शनिबार नै नेपाल आइपुगेको थियो । उनी श्रीलंकाको भ्रमण सम्पन्न गरी नेपाल आएका हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७