रास्वपाको भविष्य नयाँ शक्तिको जस्तै हो : एमाले महासचिव पोखरेल
रामेछाप । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत मंसिर ४ को निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सिद्धान्त र गन्तव्य नभएको पार्टीको संज्ञा दिएका छन् ।
राजनीतिक पार्टी समाजको ऐना मात्र नभई भविष्य देखाउने मार्गदर्शन पनि हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘हाहा–होहोमा लागेर भ्रममा नपरौँ । रास्वपाको भविष्य नयाँ शक्तिको जस्तै हो ।’
४५औँ पुष्पलाल स्मृति दिवसमा पुष्पलालको जन्मथलो रामेछापको भँगेरी पुगेका एमाले महासचिव पोखरेलले देश बनाउने भिजनरी पार्टी एमाले मात्र भएको दाबी गरे । ‘अहिले स्वतन्त्र भनिने पार्टीको हाहा–होहो छ । स्वतन्त्र पार्टी भनेको के हो ? सिद्धान्त के हो ? गन्तव्य के हो ? भविष्य के हो ? जनताले जे चाहन्छन् त्यही रे । त्यस्तो हुन्छ ?’ उनले भने, ‘विकल्प भन्दै ७ वर्षअघि नयाँ शक्ति पार्टी जन्मियो तर अहिले त्यो कहाँ छ ? त्यसैले नयाँ भन्ने भ्रममा कसैलाई नपर्न आग्रह गर्दछु ।’