स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छ : मन्त्री ज्वाला


२०८० श्रावण ७ आइतबार १०:५५ बजे

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको (स्मार्ट लाइसेन्स) समस्या चाँडै समाधान गर्ने बताएका छन् ।

आइतवार सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाइसेन्स स्मार्ट कार्डको समस्या चाँडै समाधान गर्ने र मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताए ।

उनले यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरिसकेको बताए । उनले इम्बोस्ड नम्बर प्लेट जडान गर्नेकुरामा पनि बेवास्ता गर्नु नहुने बताए । ज्वालाले यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा सरकारले पहल गरिरहेको बताए । उनले सार्वजनिक यातायातमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको शुरुवात हुनु महत्वपूर्ण रहेको बताए । चालक, सहचालकहरुले राम्रो व्यवहार र बोलीले नै यात्रुहरु खुशी हुने बताए । उनले यस अभियानले यात्रुमैत्री सार्वजनिक यातायात हुने अपेक्षा लिएको बताए ।

उनले भने, ‘लाइसेन्स स्मार्टकार्डका बारेमा धेरै गुनासाहरु छन् । हामी यो समस्यालाई छिटो भन्दा छिटो समाधान गर्ने र स्मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्नेगरी हामीले तयारी गरेका छौँ । यसको लागि छलफल पनि गरेका छौँ । मुख्य रुपमा हामी लाइसेन्समा नै केन्द्रित छौँ, यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन ११ बुँदे घोषणा पत्र जारी गरेका छौँ । त्यो लागू गर्नेछौँ । इम्बोस्ड नम्बर प्लेट जडान गर्नेकुरामा रुची देखाउनुपर्छ, बेवास्ता गर्ने होइन, त्यसलाई अनिवार्य पनि बनाउनुपर्छ । सरकारको महत्वपूर्ण आयोजनाको रुपमा अघि बढेको यो कार्यक्रम सफल बनाउनु पर्छ ।’

मन्त्री ज्वालाले चालक, सहचालकहरुको बोलीका कारण पनि कतिपय यात्रुहरुले झमेला व्यहोर्नुपरेको भन्दै यसमा यातायात व्यवस्था विभाग, महासंघले प्रशिक्षणका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७