बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक चलिरहेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बसिरहेको हो । बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा छलफल भइरहेको बताइएको छ । बैठकमा समसामयिक राजनीतिक, संक्रमणकालीन न्याय (टीआरसी) लगायत एजेण्डा प्रस्तुत भएका छन् ।
त्यसो त यसबीच गभर्नर नियुक्तिका विषयमा कांग्रेस र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच खटपट भइरहेको खबर पनि बाहिर आइरहेका छन् । कार्यकाल सकिन एक महिना अगाडि नै नियुक्त गर्नुपर्ने कानुनी प्रावधान भए पनि अघिल्ला गभर्नरको कार्यकाल सकिएको एक महिनासम्म पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन ।
गठबन्धन सरकारका प्रमुखहरु प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको लगातारको छलफलपछि बुधबार नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गराएर बिहीबार राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने निश्चित भएको थियो । पछिल्ला दिन सत्ता गठबन्धनको मुख्य दल कांग्रेसका दोस्रो तहका नेताले सार्वजनिक रूपमै प्रधानमन्त्री ओलीको शैलीप्रति असन्तुष्टि जनाइरहेका छन् ।