एन्फाको साधारणसभामा गणेश थापालाई गेटमै रोकिएपछि तनाव

काठमाडौं । अदालतले दिएको आदेश अटेर गर्दै नेपाल फुटबल संघ (एन्फा) ले पूर्व अध्यक्ष गणेश थापालाई साधारणसभा प्रवेश गर्न रोक लगाएको छ। आज (शुक्रबार) धुलिखेलमा हुन लागेको साधारण सभामा सहभागी हुन छोरा गौरवसहित पुगेका थापालाई गेटमै रोकिएको हो । थापालाई साधारण सभास्थलमा प्रवेश गर्न नदिएपछि तनाव भएको छ । साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै एक समूहले थापालाई गेटमै रोकेपछि तनाव भएको हो ।
आफूलाई रोकेपछि आक्रोशमा आएका एन्फा पूर्व अध्यक्ष थापाले भनेका छन्, ‘कि अदालतको निर्णय मान्दिनँ भन्नुपर्यो कि साधारण सभामा प्रवेश गर्न दिनुपर्यो।’ उच्च अदालत पाटनले थापाका बाबुछोरालाई साधारण सभामा सहभागी हुन पाउने अन्तरिम आदेश गरेको थियो । सो आदेशको प्रतिलिपी समेत बोकेर उनीहरू धुलिखेल पुगेका थिए । तर, गेटमा रहेका सुरक्षाकर्मी र स्वयम् सेवकले आफूहरूलाई भित्र पस्न नदिएको थापाले जानकारी दिए ।
‘हामीलाई गेटमा रोकिएको छ । प्रवेश पास चाहिने बताइरहेका छन् । तर, एन्फाले प्रवेश पास दिन मानेको छैन,’ उनले भने। गणेश थापा आरसी ३२ क्लबको प्रतिनिधिका रूपमा एन्फाको साधारणसभामा जान लागेका हुन् । उक्त क्लबले वैशाख १५ गते थापालाई प्रतिनिधि चयन गरेको थियो । यस्तै, गौरव थापा काठमाडौं जिल्ला फुटबल संघले साधारणसभामा प्रतिनिधि चयन गरेको छ। उनीहरू दुवैले साधारण सभामा भाग लिन पाउने अन्तरिम आदेश उच्च अदालत पाटनले गरिसकेको छ ।