‘ए’ डिभिजन फुटबल : जाउलाखेल र संकटाको खेल बराबरीमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र संकटा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा लिग लिडर जावलाखेल र संकटा क्लबबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने जाउलाखेलले लिएको थियो ।
खेलको ३३औं मिनेटमा जाउलाखेलका विदेशी खेलाडी फोडे फोफानाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । जाउलाखेलको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७३औं मिनेटमा संकटाका खेलाडी निशान खड्काले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
यस बराबरी खेलसँगै जावलाखेलले १३ खेलमा २४ अङ्क जोडेको छ । जावलाखेल अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान १३ खेल नै खेलको संकटा १६ अङ्क जोडेर अङ्क तालिकाको ११ औँ स्थानमा रहेको छ ।