पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु जता कमिशन उतै लाग्दा रहेछन् : मन्त्री किराती
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाइएको बताएका छन् ।
आज (शनिबार) बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी भए लगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो कुरा आरोप लगाएका हुन् । पशुपति क्षेत्र परिसरमा सफाई गर्ने क्रममा आफूलाई त्यहाँ रहेका मानिसहरुले पशुपति क्षेत्र विकास कोष जताबाट कमिशन आउँछ, त्यतै लाग्ने गरेको बताएको उनको भनाई थियो । मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रको फोहोर देखेर आफू साह्रै लज्जित भएर फर्केको पनि बताएका छन् ।
त्यहाँ जाने दर्शनार्थीहरुले ट्वाइलेट आफूलाई सोधेको र आफू पनि टवाइलेट खोज्दै हिड्नु पर्ने अवस्था आएको पनि उनको गुनासो थियो । मन्त्री किरातीले पर्यटनको पहिलो आधार सरसफाई भएकाले आफू पनि पशुपतिनाथ क्षेत्रको सफाईमा गएको तर त्यहाँ धेरै फोहोर रहेको समेत बताए ।
उनले पशुपति क्षेत्रमा बिहान मर्निङ वाकमा आउनेहरुले समेत फोहोर फ्याँकेर जाने गरेकाले त्यहाँको सफाईका लागि सबै सुध्रनु पर्ने अवस्था रहेको बताएका छन् । ‘पशुपतिनाथ सरसफाई पनि पर्यटक बढाउनका लागि हो । आज चाँही धेरै नै फोहोर देखेर म आफैं पनि साह्रै लज्जित भएर फर्केको छु । हाम्रो प्रवृत्ति कस्तो भयो भने मन्त्री भईसकेपछि गाडीबाट तल नझर्ने । कर्मचारी सीमित जागिर मात्रै खाने हो भन्ने ठान्ने । विकास कोषका साथीहरु कहाँबाट कमिशन आउँछ, खाली त्यतै मात्रै लाग्ने ।’
उनले थपे, ‘आज त्यहाँको सबै जनताले भने नि त । त्यहाँको पसलदेखि लिएर बसको पैसा उठाएर फोहोर सफा नगर्नेदेखि लिएर अब संस्कृति जनतामा कस्तो भने कुकुर डोहोर्याउँदै जाने, मर्निङ वाकमा जाँदा अर्को हातमा प्लाष्टिकमा फोहोर फ्याँकेर हिँड्ने’, मन्त्री किरातीले भने, ‘हामी सबै सुध्रिनुपर्ने देखिन्छ । पर्यटनको पहिलो आधार भनेकै सरसफाई हो । जहाँ हामी सफाई नै गर्दैनौं । धेरै मानिसहरुले आज मलाई ट्वाइलेट कता भनेर सोध्यो पशुपतिनाथमा । म आफैं ट्वाइलेट खोज्दै हिँडदै थिएँ । कति गाह्रो छ । हामी चौतर्फी पर्यटनमा एउटा कम्पन ल्याउनका निम्ति कोशिस गर्दैछौं । त्यसमा यो पनि एउटा आधार भएको छ ।’
मन्त्री किरातीले पशुपतिनाथ क्षेत्रमा पैसा लिएर पनि त्यहाँ फोहोर नउठाउने गरेको आफूले पाएको बताएका छन् ।
.gif)

.png)

