विकास–निर्माणमा अवरोध पुग्ने गरी फाइल झिकाएका छैनौं : प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको अनुसन्धानका कारण कुनै पनि विकास निर्माणको काममा अवरोध नभएको बताएका छन् ।
गत महिना प्रधानमन्त्री कार्यालयमा भएको सचिवहरुको बैठकमा अख्तियारले अनुसन्धानका नाममा हस्तक्षेप गरेको, सक्कलै फाइल मगाई लामो समय रोकेर राख्दा विकासका काम प्रभावित भएको विषय उठेको थियो ।
आयोगको ३२ औ वार्षिकोत्सव कार्यक्रममा प्रमुख आयुक्त राईले यसरी विकास निर्माणका आयोजना प्रभावित हुने गरी फाइल मगाउने र काम रोक्का राख्ने प्रवृत्ति अन्त्य गरेको लामो समय भइसकेको बताएका छन् । उनले आयोगलाई कारण देखाई कुनै पनि विकास निर्माण तथा सेवा प्रवाह गर्ने आफ्नो पदीय जिम्मेवारीवाट विमुख नहुन सार्वजनिक पदाधिकारीहरुलाई चेतावनी समेत दिए ।
उनले भने, ‘लामो समयदेखि आयोगले कुनै पनि उजुरीको छानबिनमा सक्कल कागजात मगाउने, काम रोक्का राख्ने, खरिद प्रक्रियामै अनुसन्धान अगाडि बढाउने वा काममा बाधा पु¥याउने नगरेको र आगामी दिनमा समेत यस्तो काम नगर्ने स्पष्ट पार्न चाहन्छु ।’
पूर्वाधारहरुको निर्मांणमा बर्षेनी ठूलो रकम खर्च भएपनि गुणस्तर कायम हुन नसकेको र दिगो व्यवस्थापन हुन नसकेर स्रोतको दुरुपयोग भएको भन्दै उनले सरोकारवालाहरुको ध्यानाकर्षण गराए । तीनै तहका शिक्षा, स्वस्थ्य, कृषि, खानेपानी, सरसफाइ लगायतका संवेदनशील सेवा क्षेत्रमा सरकारी स्रोतको हानी नोक्सानी र दुरुपयोग गरिएको भन्ने उजुरीहरू पछिल्लो दिनहरुमा बढिरहेको भन्दै प्रमुख आयुक्त राईले तदारुकताका साथ छानबिन तथा अनुसन्धान भइरहेको दावी गरे ।
ढुंगा, गिट्टी, बालुवाको अनुचित उत्खनन् तथा दोहनलाई नियन्त्रण गर्नुपर्ने भएको भन्दै उनले त्यस्ता उजुरीमाथि निर्भिक भएर अनुसन्धान भइरहेको दावी गरे । सरकारी कोषबाट अनुदान लिएर कागजी रुपमा काम भएको देखाउने तर कार्यस्थलमा अस्तित्वसम्म पनि नभेटिने विकास निर्माण भइरहेको भन्दै उनले ती क्षेत्रमा पनि अनुसन्धान भइरहेको बताए ।
.gif)

.png)

