नारायणहिटी संग्र्रहालयबाट २३ करोड राजश्व संकलन, २७ लाखले गरे अवलोकन


२०७५ बैशाख २ आइतबार ०३:१६ बजे
काठमाडौं, २ बैसाख : नारायणहिटी दरबार संग्रहालयले यस वर्ष २३ करोड राजश्व संकलन गरेको छ । सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्षमा २७ लाख ३१ हजार ४८५ जनाले संग्रहालय अवलोकन गरिसकेका छन् । २०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएपछि सोही वर्षको फागुन १६ गतेदेखि सर्वसाधारणलाई नारायणहिटी दरबार अवलोकनका लागि खुला गरिएको थियो । नेपाली विद्यार्थी ११ लाख ४५ हजार ५१०, नेपाली सर्वसाधारण १३ लाख ६५ हजार ९१, चीनसहित सार्क मुलुकका एक लाख ५५ हजार ५७६ र अन्य मुलुकबाट ६५ हजारले ३०८ अवलोकन गरेका छन् । यसबाट रु २३ करोड २४ लाख ५१ हजार ५०५ राजश्व संकलन भएको छ । टिकट बिक्रीबाट २३ करोड नौ लाख ६७ हजार ३०० र सवारी साधन पार्किङबाट १४ लाख ८४ हजार २०५ आम्दानी भएको सङ्ग्रहालयका सूचना अधिकारी अद्धैत श्रेष्ठले जानकारी दिए । ‘नेपाली विद्यार्थीलाई २०, नेपाली सर्वसाधारणलाई १००, चीनसहित सार्क मुलुकका दर्शकलाई २५० र अन्य मुलुकका दर्शकलाई ५ सय शुल्क लिने गरेका छौं’, उनले भने । चालु आर्थिक वर्षको चैत मसान्तसम्म मात्र दुई लाख ३५ हजार ५३४ दर्शकले संग्र्रहालय अवलोकन गरेकामा ८७ हजार ९१८ विद्यार्थी, एक लाख २८ हजार ६२ सर्वसाधारण, १३ हजार २१३ चीनसहित सार्क मुलुकका दर्शक र छ हजार ३४१ अन्य मुलुकका दर्शक रहेका छन् । यो वर्षमात्र २१ लाख तीन हजार ८३१ राजश्व संकलन भएको छ । यस्तै आठ हजार ३९२ सवारी पार्किङबाट एक लाख ३५ हजार ८७५ संकलन भएको छ । संग्र्रहालयले मोटरसाइकल पार्किङका लागि १०, कार र जीपका लागि २५ र माइक्रो, भ्यान, मिनीबस र बसका लागि रु ५० दस्तुर लिदै आएको छ । मंगलबार र बुधबार बाहेक पाँच दिन सर्वसाधारणका लागि खुला गरिने संग्रहालय दिनको ११ देखि ३ बजेसम्म अवलोकन गर्न पाइने व्यवस्था गरिएको छ । संग्र्रहालयभित्र विभिन्न बैठक कोठा, राजारानीको शयन कक्ष, राजकीय पाहुनाले प्रयोग गर्ने शयन कक्ष, भान्छा कोठा, भोजन कोठा आदि गरी ५२ कोठा छन् । विभिन्न जिल्लाका नाममा निर्माण गरिएका १९ कक्षलाई पनि प्रदर्शनीमा राखिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यालय प्रमुख रोहितकुमार ढुंगाना संग्र्रहालयलाई थप व्यवस्थित बनाउन सके दर्शकको संख्या वृद्धि हुने बताउँछन् । सङ्ग्रहालय घुम्न आउने दर्शकका लागि महानगरीय प्रहरी नारायणहिटी गारद गुल्मले सुरक्षा दिइरहेको छ । संग्र्रहालयभित्र झोला, क्यामरा, खानेकुरा लैजान तथा फोटो खिच्न मनाही गरिएको छ । गुल्मकी प्रमुख पूर्णिमा चन्दले दैनिक एक हजारदेखि तीन हजार दर्शकलाई जाँच गरेर संग्र्रहालयको अवलोकनका लागि पठाउने गरेको बताउँछन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७