धनगढी, ३० चैत । रुस्लान धनगढी प्रिमियर लिगको उपाधि टीम चौराह धनगढीले जितेको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै टीम चौराह धनगढीले लगातार दोस्रो पटक धनगढी प्रिमियर लिग(डीपीएल) को उपाधि उचालेको हो । दुई वर्ष अगाडि धनगढी क्रिकेट लिगको उपाधि जितेको चौराहले अघिल्लो वर्ष डीपीएलको पहिलो सस्करणको च्याम्पियन बनेको थियो ।
काठमाडौं निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाएपछि २१ रनले पराजित भयो । धनगढीले काठमाडौंलाई १ सय ८२ रनको लक्ष्य दिएको थियो ।
काठमाडौंका अमित श्रेष्ठले सर्वा्धिक ५८ रन बनाए । ३९ बलको सामना गरेका उनले ३ छक्का र ७ चौका प्रहार गरे । यस्तै, ज्ञानेन्द्र मल्ल ३० र सन्नी पटेलले २२ रन जोडे ।
धनगढीका ललितसिंह भण्डारीले तीन, रोहन मुस्तफा २ तथा योगेन्द्रसिंह कार्की र साम्सद शेखले समान १ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनाएकाे थियाे । उसका लागि धनगढीका सुनिल धमलाले ७८ रन बनाए । उनले ६३ बलको सामना गरेका उनले ३ छक्का र ८ चौका प्रहार गरे।
यस्तै रोहन मुस्तफाले ४२ बलमा ६० रनको पारी खेले। सो क्रममा उनले ४ चौका र ४ छक्का प्रहार गरे। सोमपाल कामी ८ रनमा नटआउट रहे। अस्फाक अहमदलाई ४ रन बनाए ।,
दोस्रो विकेटका लागि सुनिल धमला र रोहन मुस्तफाबीच डीपीएलको कीर्तिमानी साझेदारी गरे । ९० बलमा उनीहरुबीच १ सय ४२ रनको साझेदारी भएको हाे।
बलिङतर्फ काठमाडौँका लागि सुबोथ भाटीले दुई तथा सन्नी पटेलले एक विकेट लिए ।
उपाधिसँगै चौराहले २५ लाख रुपैयाँ प्राप्त गरेकाे छ । उपविजेतामा चित्त बुझाएकाे काठमाडौं गाेल्डेन्सले १० लाख रुपैयाँ प्राप्त गरेकाे छ ।