सर्लाही, २९ चैत : अखिल क्रान्तिकारीको सर्लाही जिल्ला अध्यक्षमा विवेक मैनाली निर्वाचित भएका छन् ।
आज भएको सर्लाही क्रान्तिकारीको सम्मेलनबाट उनी अध्यक्षमा निर्वाचित भएको प्रदेश–२ का इन्चार्ज समेत रहेका उपमहासचिव गणेशप्रसाद मैनालीले जानकारी दिएका छन् । सम्मेलनको उद्घाटन केन्द्रिय अध्यक्ष रञ्जित तामाङले गरेका थिए । यसअघि नव निर्वाचित अध्यक्ष मैनाली त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पत्रकारीताको केन्द्रिय क्याम्पस रत्न राज्यलक्ष्मी क्याम्पसको इन्चार्ज थिए । क्रान्तिकारी माओवादी केन्द निकटको विद्यार्थी संगठन हो । एमाले र माओवादीबीच पार्टी एकताको अन्तिम मिति नजिकिइरहेको बेला क्रान्तिकारीले देशभर सम्मेलन गरिरहेको छ ।
सम्मेलन उद्घाटनमा बोल्दै अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जनताले ठूलो बलिदानीका साथ निरंकुशता र खराबी तन्त्र मास्न साथ दिएकाले त्यसको उपहारस्वरूप विकास, सुशासन र समृद्धि दिनुपर्ने बताए । उनले निरंकुशता उखेल्न साथ दिएका जनताले प्रगतिशील वामपन्थी शक्तिलाई बहुमतसहित सत्ताको चाबी सुम्पिएको जिकिर गरे । केपी ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम नगरे जनताले माफी नदिने दाबी पनि तामाङले गरे ।