जी–२० सम्मेलनमा पुटिन नजाने


२०७९ कार्तिक २५ शुक्रबार ०१:४७ बजे

जकार्ता । जी२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन नजाने भएका छन् । सम्मेलनमा राष्ट्रपति पुटिनले विदेशमन्त्री सर्गेई लाभरोभलाई पठाउने भएका छन् ।

यही कात्तिक २९ र ३० गते इण्डोनेशियाको बालीमा जी २० शिखर सम्मेलन हुँदैछ । पश्चिमा राष्ट्र र युक्रेनले सम्मेलन आयोजक इण्डोनेसियालाई मस्कोको निन्दा गर्न र पुटिनलाई दिएको निमन्त्रणा फिर्ता लिन दबाब दिएका बेला राष्ट्रपति पुटिन सम्मेलनमा सहभागी नहुने समाचार सार्वजनिक हुनुलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

यद्यपि जकार्ताले उक्त दबाबको प्रतिरोध गर्दै तटस्थ रहने मानसिकता प्रस्तुत गरेको थियो । त्यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसलाई समूहबाटै निष्कासन गर्न आह्वान गरेका थिए । इण्डोनेसियाले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई शिखर सम्मेलनमा अतिथिको रूपमा भाग लिन निम्तो दिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले रूसी राष्ट्रपति शिखर बैठकमा सहभागी भएमा आफू सहभागी नहुने उद्घोष गरेको केवल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ । सिएनएनका अनुसार युक्रेनी नेताले शिखर बैठकमा भाग लिने अपेक्षा गरिएको छ ।

तीन देशले यो वर्ष सम्मेलनको मूल ‘अर्थतन्त्रलाई एकसाथ पुनः पुरानै अवस्थामा फर्काउने र पुनः सुदृढ तुल्याउने’ तय गरेका छन् । कोभिड–१९ का कारण शिथिल भएको विश्व अर्थतन्त्रलाई पुनः चलायमान बनाउने उद्देश्यका साथ उक्त नारा निर्धारण गरिएको हो ।

अघिल्लो वर्षको सम्मेलन आयोजक राष्ट्र इटाली, हालको अध्यक्ष इण्डोनेशिया र आगामी वर्ष समूहको अध्यक्षता गर्ने भारतले सम्मेलनका कार्यसूची पारस्परिक परामर्शमा निर्धारण गर्ने प्रचलन छ । भारतले आगामी मंसिर १५ गतेदेखि समूहको अध्यक्षता गर्नेछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७