जनताले माओवादीले देश चलाओस् भन्ने चाहेका छन् : प्रचण्ड
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् ।
आज (बिहीबार) पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरे । उनले नेकपा माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको स्पष्ट भएको बताए । अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीतिक कता लैजाने भन्ने कुराको निर्णय गर्न माओवादीलाई रोजेको बताए ।
माओवादी नेता, कार्यकर्ताहरुले जनताको बीचमा जानुपर्ने कुरा लगायतका जनमुखी काम गर्न मिहेनत नगरेको पनि उनको भनाइ थियो । पार्टीभित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउन सके आगामी निर्वाचनमा (माओवादी केन्द्र) नै पहिलो कम्युनिष्ट पार्टी बन्ने प्रचण्डले दावी गरे ।
उनले स्थानीय तहका निर्वाचनबाट र पार्टीका अनुभवबाट शिक्षा लिएर आगामी प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सन्तुलित, स्पष्ट, पारदर्शी र एकतावद्ध ढंगले पार्टी अघि बढ्ने बताए ।