धनुषामा अर्धनग्न अवस्थामा महिलाको शव फेला
धनुषा । धनुषाको सहिदनगर नगरपालिका-३ यदुकूहामा बाँसको झाडीमा अन्दाजी २६ वर्षीया एक महिलाको शव भेटिएको छ । मंगलबार बिहान स्थानीयले नहर डिलमा रहेको बाँसको झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक महिला सहिदनगर नगरपालिका-३ यदुकूहा बजार टोलकी हुन् । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरी फालेको जस्तै देखिन्छ । महिलाको शव अर्धनग्न अवस्थामा भुइँमा रहेको घटनास्थलमा पुगेका एक प्रहरीले बताए ।
प्रहरीका अनुसार लाश फेला परेको ठाउँमा अहिले प्रहरीले घेरा हालेको छ । धनुषा प्रहरीका प्रहरी उपरीक्षक बसन्त रजौरे सहितको प्रहरी टोली तालिम प्राप्त कुकुर लिएर घटनास्थलमा पुगेका छन् । कुकुरले लाश सुँघेपछि गाउँतिर गएको छ । प्रहरीले कुकुरको मद्दतले घटनामा संलग्नको खोजी गर्दैछन् ।
‘यदुकूहाको बजार टोलमा इन्द्र पूजाको अवसरमा मेला लागेको थियो । मृतक महिला साँझ ६-७ बजे मेला हेर्न घरबाट निस्केका थिइन् । मृतककी सासुले भनिन्’ ‘अबेरसम्म घर नफर्केपछि बुहारी खोज्न मेलामा गयौं तर त्यहाँ नभेटेपछि घर फर्केर मेलामा नाच थियो नाच सकिएपछि आफैं घर आउाछ भने तर बिहान-बिहानै बुहारीको लाश भेटिएको खबर पाएँ ।’
यदुकूहामा इन्द्र पुजाको अवसरमा मेला लागेको थियो । मृतकको घरदेखि केही दूरीमा रहेको स्कुलमा हिजो राति नाच कार्यक्रम थियो । मेलाकै मौकाछोपी बलात्कार गरी हत्या गरेर फालेको हुन् सक्ने स्थानीयको अनुमान छ । मृतक महिलाको ३ वर्षीया एक छोरी छिन भने उनको श्रीमान् चार वर्षदेखि वैदेशिक रोजगारमा छन् ।