हाम्रो कारणले पनि विश्वयुद्ध निम्तन सक्छ : टोपबहादुर रायमाझी


२०७९ असार ४ शनिबार १७:०२ बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले अहिले नेपालका सबै दलहरु एसपीपी सम्झौता गर्न नहुने पक्षमा उभिएको पनि बताएका छन् ।

नेता रायमाझीले भने, ‘एसपीपीको ऐतिहासिक पृष्ठभूमिबारेमा अझै प्रष्ट र यथार्थ बाहिर आइसकेको छैन । अमेरिकाको प्रस्ताव हो कि नेपालको आफैले प्रस्ताव गरेको हो कि ? को-को त्यहाँ संलग्न थिए भन्ने यथार्थ विवरण आएको छैन । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय समितिले पनि सबै वास्तविकता माग गरेको छ । कुन तिथि, मिति र कसको पालामा कस्ता प्रस्ताव गएका थिए र कस्ता प्रस्ताव आएका थिए भन्नेबारे समितिले माग गरेको छ । सबै डिटेल आएपछि चर्चा र छलफल गर्न सक्छौँ । अहिले धारणा राख्नु अपुरो हुन्छ ।’

नेता रायमाझीले अहिले एसपीपीबारे बाहिरिएको सम्झौताको मस्यौदा नेपालको हितमा नरहेको जिकिर गरे । अब देशलाई अहिलेका दल र यसका नेतृत्वकर्ताहरुले सही दिशा दिनुपर्नेमा पनि रायमाझीले जोड दिए । उनले अब दलहरुले राष्ट्रियताको प्रश्नमा खासगरी विकास र समृद्धिको पक्षमा, सामाजिक न्याय र सुशासनको क्षेत्रमा एकमत हुन जरुरी रहेको धारणा राखे ।

रायमाझीले दलहरुले अब एकआपसमा हिलो छ्यापाछ्याप गर्न नहुने धारणा राख्दै विकास र समृद्धिको एजेण्डामा एकतावद्ध भएर अघि बढ्नुपर्ने बताए ।  नेता रायमाझीले अहिले विश्व राजनीति नै तरङ्गित बनेको अवस्था रहेको बताए ।

उनले भने, ‘विश्वव्यापी रूपमा टक्कर भइरहेको छ, दुनियाँका मुलुकहरू विभाजित रूपमा गएका छन् । हामीले सन्तुलित विदेशी नीति अपनाउनु पर्छ । हामी कुनै देशतर्फ ढल्कनु हुँदैन । घोषित नीतिभन्दा बाहिर जानु हुँदैन । दलहरूले यो विषयलाई गम्भीरतापूर्वक लिनुपर्छ । यो कुनै दल र सरकारको मात्रै कुरा होइन । हामी आफ्नो अन्तर्राष्ट्रिय नीतिबाट विचलित भयौं भने हाम्रो कारणले पनि विश्वयुद्ध निम्तिन सक्छ । यदि हामी आफ्नो नीति र अडानमा अडिग रह्यौं भने त्यो विश्वयुद्ध पनि रोक्न सकिन्छ । देश सानो वा ठुलो भएर हुँदैन । नीतिमा अडान हुनुपर्छ ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७