ताप्लेजुङमा पहिरोले घर बगायो


२०७९ असार ४ शनिबार २२:४५ बजे

ताप्लेजुङ । लगातारको वर्षा सँगैको पहिरोले शनिबार बिहान ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-२ खेजेनिम चाकुका जीवन बाराकोटीको घर बगाएको छ । प्रहरी नायब उपरीक्षक कैलाश राईले मानवीय क्षति नभएको, तर भैंसी, बाख्रालगायतका पशुचौपाया बगाएको जानकारी दिए । पहिरो जान थालेपछि मानिसहरु भागेका थिए ।

पहिरोका कारण करिब २५ घर जोखिममा परेको स्थानीय जगन पौडेलले जानकारी दिए । अहिले पनि बर्षा भइरहेकाले बस्ने अवस्था नभएको उनले बताए । विस्थापित परिवारलाई स्थानीय विद्यालयमा राख्ने विषयमा छलफल भइरहेको वडाध्यक्ष भूपेन्द्र चौलागाईं बताउँछन् ।

फक्ताङलुङ गाउँपालिका-१ सावादिन तेम्रुङमा सिरानघरे कान्छा भनेर चिनिने टेकबहादुर श्रेष्ठको भैंसी, बाख्रा लगायतका पशु चौपाया बगाएको स्थानीय भक्तबहादुर सावदिनले जानकारी दिएका छन् । यहाँका पनि केही घर जोखिममा रहेको उनले बताए ।

सिरिजंगा गाउँपालिका-७ खेवाङका विस्थापित परिवार सुरक्षित घर र भवन पहिचान गरी सेल्टर बनाएर बसेका छन् । स्थानीय गणेश माविका शिक्षक विनम मावोका अनुसार पहिरोको जोखिम कायमै रहेकाले मानिसहरु घर फर्कन सकेका छैनन् । सञ्चार सम्पर्क हुन नसकेका कारण समस्या भएको छ । पहिरो प्रभावित क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको विनमले बताए ।


प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलका अनुसार सिरिजंगा १ सिनाममा रहेको सशस्त्र प्रहरीको टोली खेवाङतर्फ पठाइएको छ । जताततै पहिरो चलेकाले टोलीलाई पुग्न समय लाग्न सक्ने पोख्रेलले बताएका छन् । बिहीबार बेलुकाको पहिरोमा परी ज्यान गुमाएका सासु तुलसा र बुहारी यशोदा अधिकारीको अन्त्येष्टि कावेली नदीमा शनिबार बिहान भएको छ ।

सदरमुकाम फुङलिङमा पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको र ससुरा उद्योग अधिकारीले जिम्मा लिई अन्त्येष्टि गरेको स्थानीय प्रशासनले जनाएको छ । पहिरोमा परी घाइते भएका विष्णु अधिकारीको स्वास्थ्यमा सुधार आएको उनका मावली वसन्त दाहालले जानकारी दिए । घाइतेको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । नेपाली सेनाको हेलिकोप्टरले मृतकलाई पोष्टमाटर्मका लागि सदरमुकाम फुङलिङ ल्याइ घाइतेलाई कोशी अस्पताल पुर्‍याएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७